नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नहुने बताएका छन्।

शनिबार तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा एमालेका स्वर्गीय नेता श्रीमणि आचार्यको शालिक अनावरणपछि सम्बोधन गर्दै महासचिव पोखरेलले कतिपयले अब पुराना पार्टीले गर्न सकेनन् बरू स्वतन्त्र भन्ने गरेकोप्रति रोष प्रकट गरे। राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नहुने हुँदा त्यो समयलाई बर्बाद गर्ने कुरा मात्रै भएको उनको दाबी छ।

‘राजनीतिमा स्वतन्त्रको कुनै अर्थ हुन्छ? कुनै अर्थ हुँदैन। त्यो समयलाई बर्बाद गर्ने कुरा मात्रै हो। अझ स्वतन्त्रका नाममा पार्टी अर्को बनाउनु झनै मजाकको कुरा हो,’ उनले भने ‘राजनीति सिद्धान्त आधारित, विचार आधारित उद्देश्य आधारित हुने हुन्छ भन्ने कुराको न्यूनतम ज्ञान पनि हुँदैन भने राजनीति नगर्दा हुन्छ।’

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसअघि अब नेपालमा धेरै राजनीतिक दल नभई बलिया राजनीतिक दलहरूको खाँचो रहेको औंल्याएका थिए।

भएका दलहरूलाई पाखा लगाएर नयाँ दल खोलेर नेपालको राजनीति सही बाटोमा नजाने उनको दाबी थियो।

राजनीति बुझेर मात्रै गर्नुपर्ने भन्दै उनले नेपालमा बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेका राजनीतिक दल काम नलाग्ने भए भन्नु तर सामाजिक सञ्जालमा सेलिब्रेटी भएकाहरूले राजनीति गर्न बित्तिकै त्यो सफल हुन्छ भन्नु मजाक हुने तर्क गरे।

‘भारतीय फिल्म उद्योगमा अत्यन्तै लोकप्रिय भएर महानायकहरू चुनाव लडेपछि, अमिताभ बच्चन चुनाव लडेर जितेपछि उनले अर्कोपटक चुनाव लड्दिनँ भनेर कान समाते र यो मेरो क्षेत्र होइन भनेका थिए,’ एमाले महासचिव पोखरेलले भने, ‘फेरि कलाकारितामा फर्किए र आज उनी सफल कलाकारका रूपमा चिनिन्छन्। तर, हामी कहाँ के भएको हो? एउटा क्षेत्रमा थोरै चर्चा पाउन के सुरू गर्‍या हुँदैन त्यसपछि उसले राजनीतिका सपना देख्न थालिहाल्छ अनि राजनीतिलाई विभाजित गरिहाल्छ।’

राजनीति आफ्नै मूल्य मान्यताको जगमा उभिएको हुन्छ भन्ने कुरालाई बुझ्न जरूरी रहेको उनको भनाइ थियो। व्यवस्था परिवर्तनमा भूमिका खेला ठूला राजनीतिक दलहरूका विरूद्धमा अनावश्यक पैदा गर्ने काम भइरहेको र त्यो भनेको समाजलाई पछाडि धकल्ने काम मात्रै हुने बताए।

राजनीतिलाई विचारको जगमा ध्रुवीकरण गर्ने कुरा नै उचित कुरा भएको भन्दै महासचिव पोखरेलले तर त्यसको अर्थ विचार नमिल्ने बीचको सम्बन्ध कटुतापूर्ण हुन्छ भन्ने सोच गलत भएको बताए।

राजनीतिक रूपमा प्रतिस्पर्धा आफ्नो ठाउँमा र सम्बन्ध आफ्ना ठाउँमा हुने पोखरेलले बताए।

नेपालको राजनीतिमा योगदान गरेका पार्टीहरूमध्ये कांग्रेस र एमाले हुन् भन्ने कुरामा कुनै हिचकिचाहट नरहेको चर्चा गरे। कुन नीतिका आधारमा समाजलाई अगाडि बढाउने भन्ने कुरामा स्पष्ट नीतिगत बहस गर्न जरूरी रहेको उनले बताएका थिए।

‘कांग्रेस उदार प्रजातन्त्रको बाटोबाट अगाडि बढ्न चाहन्छ हामी समाजवादी बाटोबाट अगाडि बढ्न चाहन्छौं,’ महासचिव पोखरेलले भने, ‘हामीमा स्पष्ट एउटा भिन्नता छ। यद्यपि बिपीले प्रजातान्त्रिक समाजवाद भनेको कुरालाई आधार बनाउँदा आज संविधानमा समाजवाद उम्मुख भन्ने कुरा साझा कुरा बनेको छ।’

कांग्रेस र एमाले बीचको यही कुरा बुझेर राजनीतिमा लागे पुग्ने तथा अरू दलहरू आवश्यक नपर्ने उनले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै संविधानको मिस्रित प्रणालीमा केही सुधार आवश्यक रहेको बताए।

‘यसले मुलुकको राजनीति अस्थिर भयो, अहिले हामी यहाँ छौं, भोलि अर्को सरकार आयो भन्दा आश्चर्य मान्नु पर्दैन,’ नेता गिरीले भने, ‘संविधान परिवर्तन गर्नका लागि पनि र मुलुकमा राजनीतिक स्थायित्वका लागि पनि प्रथम र दोस्रो पार्टी मिल्दा के बिग्रन्छ त?।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!