सिरहा नगरपालिका वडा नम्बर–१७ पटेर्वामा श्री आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । विद्यालयको आन्तरिक आय श्रोतबाट विद्यालयका ३ सय जना बालबालिकालाई पोशाक वितरण गरिएको श्री आधारभूत विद्यालय पटेर्वाका प्रधानाध्यापक दुर्गानन्द यादवले बताएको छ ।
सरकारी स्कुलमा विद्यार्थीको आकर्षण बढाउन पोषाक वितरणको योजना ल्याइएको प्रधानाध्यापक यादवले बताए । उनी भन्छन्, सरकारी स्कुलहरुले विभिन्न योजना ल्याएर समाजमा गुणस्तरीय शिक्षाको अभियान थाल्नुपर्छ ।
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ आइतबार सिरहा नगरपालिका वडा नम्बर १७ मा रहेको श्री आधारभूत विद्यालय पटेर्वामा कक्षा ८ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्णरुपमा शिक्षित हुने मेयर डा नविन कुमार यादवले विश्वास व्यक्त गरे । स्थानीय तह, प्रदेश र संघीय सरकारले पनि सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भिर हुनुपर्ने जोड दिए । उनले भने, हामी पढ्दा त्यतिबेला कहि कतै मात्रै निजी विद्यालय हुन्थ्यो । अधिकांश सामुदायिक विद्यालयमा नै पढ्ने हुन्थे । अहिले पनि तथ्यांक हेर्ने हो भने सामुदायिक विद्यालयबाटै शिक्षा दिक्षा प्राप्त गरेकाहरु नै उच्च ओहोदामा छन् । फेरी पनि सामुदायिक विद्यालयलाई पहिले जस्तै गुणस्तर शिक्षा प्रदान गर्ने बनाउनुपर्छ, मेयर डा यादवले भने ।
राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक पनि उतिकै इमान्दार हुनुपर्ने उनले धारणा राखे । ‘‘विगतको तुलनामा अभिभावकहरुको आकर्षण सामुदायिक विद्यालयप्रति बढिरहेको छ, मेयर डा यादव भन्छन्, यस क्रमलाई विस्तारै उकास्न जरुरी छ । जसमा सबैको सहयोग आवश्यक छ ।’’
“शिक्षक र शिक्षिकाले अभिभावकलाई तपाईको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौं भन्ने प्रतिबद्धता गरेर भर्ना गराउनुपर्छ, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले भने, मेरो ठाउँबाट हुने सहयोगमा कदापि पछि हट्दिन । यसरी प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन सकिने विश्वास मलाई लाग्छ ।’’
यस्तै सिरहा नगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष उमेश प्रसाद यादवले सबैभन्दा ठूलो भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने बताए ।
उनले यो विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका ३ तीन सय जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । यसबाट विद्यार्थीहरु निकै खुसी भएका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र बिद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे ।