काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ । नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले एमालेले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताउनुभयो ।
एक/दुई जनाको मुख हेरेर सरकारमा छँदैछाैँ भनेर नहुने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एमाले प्रतिक्रियावादी शक्ति जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी नभएको बताउनुभयो ।