
सिरहा । हुलाकी राजमार्ग जोड्ने गरी सिरहा जिल्ला र धनुषा जिल्लाको सीमा नदीको रुपमा रहेको पवित्र कमला नदीमा १३ वर्षदेखि निर्माणधीन पुल पूरा गर्न दबाब दिन आन्दोलन घोषणा भएको छ । कमला पूल निर्माण संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलन घोषणा गर्दै शानिवार जिल्ला सदरमुकाम सिरहामा मशाल जुलुस प्रर्दशन गरेको छ ।
सिरहाको रामजानकी चौकबाट निकालिएको मशाल जुलुश नगरको विभिन्न भागको परिक्रमा गरी सहिद राजेश ठाकुर पार्क हुँदै हेमनारायण चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा वक्ताहरुले १३ वर्षदेखि निर्माधीन कमला नदीको पुल बनाउन सरकार उदासिन रहेकोले कडा आन्दोलन गरी पुल निर्माण पूरा गराउन बाध्य पारिने बताएका छन् ।

आन्दोलनको कार्यक्रम अन्र्तगत शनिबार शान्तिपूर्ण रुपमा प्रर्दशन गरिने र विरोध स्वरुप बजार बन्द राख्ने र जेठ १४ गते सोमवार सिरहा सदरमुकाम स्थित सम्पूर्ण सरकारी कार्यालय बन्द गरिने र विहान ८ देखि ११ बजेसम्म चक्का जाम गर्ने गरी आन्दोलनको घोषणा गरिएको छ ।
संघर्ष समिति जेठ १५ गते सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गर्ने गरी बजेत विनियोजन गरी पुल निर्माण पूरा गर्न दबाब दिन लागेको हो ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिरहा–धनुषा जोड्ने कमला पुल पुनः निर्माण गर्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । गत शुक्रवार संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन् ।
देश कै राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये यो हुलाकी राजमार्ग तराई मधेशको आम जनताको जीवनयापन र समृद्धिसँग जोडिपनि सिरहा र धनुषा जिल्ला जोडने कमला नदिमा निर्माण भएको कमला पुल निर्माण पश्चात उद्घाटनको नजिकमा आई भाँसिएर आवतजावत बन्द भएको करिब ३ वर्ष वितिसक्दा पनि निर्माण गर्न नसकिएकोले अगामी बजेटमा यस विषयलाई समेट्न आग्रह गरिएको छ । संघर्ष समितिका संयोजक रविन्द्र साहको नेतृत्वमा पुगेको सिरहाका नागरिक अगुवाहरुले पुल निर्माण निकै महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई ध्यानाकषर्ण गराएका छन् ।
प्रधानमन्त्री देखि मन्त्रीद्वारा निरिक्षण तर पुल पूरा गराउन वेवास्ता
१३ वर्षदेखि निर्माणधीन रहेको र भाँसिएको कमला नदी पुलको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डदेखि विभागिय मन्त्रीहरुले निरिक्षण गरेपनि त्यसको उपलब्धी देखिन सकिएको छैन् । प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव कुमार नेपाल, बाबुराम भट्टराई, शेर बहादुर देउवासम्मलाई ध्यानकर्षण गराउँदा पनि पुल बन्न सकेको छैन् । तात्कालिन प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिरहामा एक कार्यक्रमलाई सम्बोधन गर्दै २०७७ मै पुल सञ्चालनमा आउने घोषणा गरेको थिए तर ती घोषणा पनि भाषणमै सिमित भयो ।
प्रधानमन्त्रीपछि गृहमन्त्रीहरु रवि लामिछाने, नारायणकाजी श्रेष्ठले पनि कमलाको भाँसिएर अलपत्र रकेको पुलको निरिक्षण गरे र पुल निर्माणको खोक्रो भाषण ठोके । ती भाषण अहिले भाषणमै सिमिति भएको छ । त्यसका अलावा विभागीय मन्त्रीहरु रघुवीर महासेठ, रेणु यादव, वसन्त नेम्वाङ मात्र होईन राष्ट्रिय सभाका तात्कालिन अध्यक्ष गणेश तिमिल्तिना लगायत कायौं नेता र सांसदहरुले भाँसिएको पुल निरिक्षण गर्न भ्याएका छन् । निरिक्षण गरेको वर्षौ भईसक्दा पनि पुल निर्माण पुरा हुन सकेको छैन् ।
२०६८ सालमा शिल्यानाश
पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डसले संयुक्त रुपमा करिब २४ करोडमा निर्माणको सम्झौता गरेको थियो । सम्झौता भएपछि मंसिर २०६८ मा तात्कालिन भौतिक पूर्वाधारमन्त्री हृदेश त्रिपाठीले कमला नदीमा पक्की पुल निर्माण कार्यको शिल्यानाश गरेका थिए । त्यस क्रममा सिरहाभन्दा धनुषाका ठूलाठूला नेताहरु सहभागी भएका थिए । उनीहरुले पुल समयमा पूरा गर्ने गरी वाचा पनि गरे । धनुषाका नेताहरु पटकपटक संघीय सरकारमा मन्त्री पनि बने । विमलेन्द्र निधि, रघुवीर महासेठ, जुली महतो, रामचन्द्र झा, उमाशंकर अरगरिया लगायत कयौं मन्त्री बनेपनि पुल निर्माण पूरा गराउन भूमिका खेल्न सकेका छैनन् । विमलेन्द्र निधि, रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्रीको पनि जिम्मेवारी पाउँदा पनि पुल निर्माणलाई सम्पन्न गर्न असक्षम रहेको सिरहा र धनुषाका स्थानीयवासीको भनाई रहेको छ । आफूहरुले वर्षेनी सास्ती भोग्दै गर्दा यसै क्षेत्रका नेताहरु विभागीय मन्त्री हुँदा पनि पुल बनाउन सशक्त रुपमा पहल गर्न असक्षम भएको सिरहा क्याम्पसमा शिक्षण पेशमा आबद्ध अशोक कुमार यादवले बताएका छन् ।