काठमाडौं । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज विभिन्न शिलान्यास र उद्घाटनका कार्यक्रममा दिनभरी व्यस्त हुने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन ओली हिजो झापा पुगेका थिए ।
एमाले अध्यक्ष ओलीले अहिले केहीबेरमा कमल गाँउपालिकाको पाडाजुंगी पुगेर एसियन हाइवेको शिलान्यास गर्दैछन् । दुईलेनको पूर्व पश्चिम राजमार्गलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउन लागिएको छ ।

शिलान्यास हुन लागेको पूर्वी खण्डको काँकडभिट्टा –लौकही सम्म ९५ किलोमिटर लामो हुने छ । यो सडक एसियाली विकास बैंकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो ।
सडक शिलान्यासका लागि उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि झापा पुगिसकेका छन् ।
सडक शिलान्यास लगत्तै अध्यक्ष ओलीले झापा क्षेत्र नं ४ को शिवगञ्ज–मदरगाछ खण्डको कन्काई पुलको पनि शिलान्यास गर्न त्यहाँ पुग्ने छन् ।
त्यसपछि अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र गौरीगञ्ज फर्कनेछन् । गौरादह नगरपालिकाको सिमा नजिक रहेको गौरिगञ्ज गाउपालिकामा निर्माण भएको चर्चित कपडा उद्योग केटीएम सिटी उद्योगको उद्घाटन गर्ने सांसद लालप्रसाद साँवा लिम्बुले जानकारी दिए ।
अध्यक्ष ओलीले भोलि एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नेछन् ।
भोलि नै मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
यसअघि हिजो ओली बासँग बालबालिका कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष ओली काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।




