सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाईट मार्फत स्वतः प्रकाशन सार्वजनिक गरेको छ । सूचनाका अभियन्ता परशुराम साहले स्वतः प्रकाशन संग सम्बन्धित सूचना मांग गरेपछि पालिकाले वेबसाईट मार्फत २०८० माघ, फागुन र चैत्र महिनाको स्वतः प्रकाशन सार्वजनिक गरेका हुन ।
सूचना अधिकारी तोकाउन, “सूचना मांग अभियान” नै संचालन गरेको साहले सूचना अधिकारी तोकाउने र तोकिएका सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्न लगाउने अभियानमा सफलता प्राप्त भएपछि , अभियन्ता साहले केही दिन यता स्वतः प्रकाशन गराउन सार्वजनिक निकायमा दवाव सृजना गरेका हुन । स्वतः प्रकाशन संग सम्बन्धित सूचना मांग गर्न थालेपछि मधेश प्रदेशका सार्वजनिक निकाय स्वतः प्रकाशन गर्न बाध्य भएका हुन । यस अघि सिरहाका बिष्णुपुर गाउँपालिकाले स्वतः प्रकाशन वेबसाईट मार्फत सार्वजनिक गरेका थिए । सिरहाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय,लहान, आन्तरिक राजस्व कार्यालय,लहान, कृषि ज्ञान केन्द्र,सिरहा, प्रादेशिक अस्पताल,सिरहा, भुमिगत जल सिंचाई डिभिजन कार्यालय,लहान, कोष तथा लेखा नियन्त्रण कार्यालय,लहान, डिभिजन बन कार्यालय,लहान लगायतका कार्यालयले स्वतः प्रकाशन सार्वजनिक गरेका हुन ।

नागरिकले सूचना मांग नगरेपनि सार्वजनिक निकायले प्रत्येक ३÷३ महिनामा नागरिकको जानकारीको लागी स्वतः सूचना सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था छ । सूचनाको हक सम्बन्धि ऐन,२०६४ र नियमावली २०६५ बमोजिम २० वटा शीर्षकमा आफ्नो निकायसँग सम्बन्धित बिबरण ३ महिना पूरा भएको १५ दिन भित्र सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था रहेको छ ।



