काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरेको हो ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ किलो ७ सय ६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चार नेपाली र ३ भारतीय नागरिक छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमा दार्चुलाको महाकाली नगरपालिका३, टाँटेका ४७ वर्षिय गणेश दत्त बडु, झापाको बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नगरपालिका३ का २१ वर्षीय आयुष बहु, झापाको बिर्तामोड नगरपालिका ३ का २२ वर्षीय भातराज खोल छन्।
यस्तै, भारतको महाराष्ट्र राज्यको सांगली आटपाडी थानाका ३७ वर्षीय अमोल विभूत, सोही स्थानका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



