सिरहा । सदरमुकाम सिरहामा रहेको कारागार कार्यालय सिरहाको जग्गा अतिक्रमण गरिएको भन्दै फिर्ता गर्न माग सहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ ।
अतिक्रमण गरिएको जग्गा खाली गराउन माग सहित सामाजिक अभियन्ताहरुले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको हो । सामाजिक अभियन्ता शुभेन्द्र कुमार साहको नेतृत्वमा विनोद कुमार श्रेष्ठ, सुरेन्द्र यादव, वसन्त मण्डल, विजय कुमार माझी र योगेन्द्र कुमार यादवको टोलिले बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापन पत्र बुझाएको छ ।
सार्वजनिक सम्पति सवैको साझा सम्पति हो भन्ने मूल्य मान्यतालाई स्वीकार गर्दै राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी ठानेर अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता ल्याउन माग गर्दै सो माग पूरा गर्न ७ दिनको समय दिइएको छ । सात दिनभित्र कार्यान्वय नभए यही वैशाख २३ गते देखि सत्याग्रह (आमरण अनशन) वस्ने ज्ञापन पत्र मार्फत जिल्ला प्रशासनलाई चेतावनी समेत दिएको छ ।
सिरहा कारागार कार्यालय देखि पश्चिम सिरहा नगरपालिकाको कार्यालय देखि पूर्व उत्तर पोखरीको डिल र दक्षिणमा कारागार कार्यालयको खाली जग्गा भएको चार किल्ला भित्रको जग्गा अतिक्रमण गरी वनाएको घर टहरा हटाउनु पर्ने र कारागार कार्यालय सिरहामा निमाण हुन लागेको कम्पाउण्डवाल निर्माण तत्काल रोकी कारागार कार्यालय सिरहाबाट मिति २०७६।१०।२४ को च.नं. १०७७ को पत्र अनुसार कार्यान्वयन गर्नुपर्ने माग रहेको छ ।
ज्ञापनपत्र बुझ्दै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले माग सम्बन्धमा आफू सचेत रहेको र यस विषयमा थप बुझ्नुपर्ने भएकोले छानविन गरी आवश्यक प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।