रुन्केश कामती

सिरहा । नयाँ शैक्षिक सत्रका २०८१ को भर्ना अभियानलाई सिरहा नगरपालिकाले तिब्रता दिएको छ । यस अभियानलाई उत्साहका साथ अगाडी बढाई प्रभावकारी बनाउन सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले सबैमा आग्रह गरेको छ ।

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ शनिबार सिरहा नगरपालिका वडा नम्बर ६ बाट भर्ना नगरपालिकाले अभियान सुरु गरेको छ । भर्ना अभियानलाई सार्थकता प्रदान गर्न पनि नगरपालिकाले सक्रियता बढाएको अधिकृत यादवले बताए ।

सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रुपमा शिक्षित हुने अधिकृत यादवले विश्वास व्यक्त गरे । स्थानीय तह, प्रदेश र संघीय सरकारले पनि सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भिर हुनुपर्ने जोड दिए । उनले भने, हामी पढ्दा त्यतिबेला कहि कतै मात्रै निजी विद्यालय हुन्थ्यो । अधिकांश सामुदायिक विद्यालयमा नै पढ्ने हुन्थे । अहिले पनि तथ्यांक हेर्ने हो भने सामुदायिक विद्यालयबाटै शिक्षा दिक्षा प्राप्त गरेकाहरु नै उच्च ओहोदामा छन् । फेरी पनि सामुदायिक विद्यालयलाई पहिले जस्तै गुणस्तर शिक्षा प्रदान गर्ने बनाउनुपर्छ, प्रशासकीय अधिकृत यादवले भने ।

राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक पनि उतिकै इमान्दार हुनुपर्ने उनले धारणा राखे । ‘‘विगतको तुलनामा अभिभावकहरुको आकर्षण सामुदायिक विद्यालयप्रति बढिरहेको छ, प्रशासकीय अधिकृत यादव भन्छन्, यस क्रमलाई विस्तारै उकास्न जरुरी छ । जसमा सबैको सहयोग आवश्यक छ ।’’
अभियानको शुभारम्भ कार्यक्रममा रहेको ब्यानरमा “तपाई आफ्नो नानी दिनुस्, गुणस्तरी शिक्षा, असल नागरिक हामी दिन्छौं’’ लेखिएको थियो । प्रशासकीय अधिकृत यादवले ब्यानरमा लेखिएको उक्त नारालाई पनि सार्थकता प्रदान गर्न पनि जनप्रनिधि, अभिभावक र शिक्षक–शिक्षिका इमान्दार हुनुपर्ने बताए ।

“विद्यालय भर्ना अभियानको घरदैलोमा पुग्दा शिक्षक र शिक्षिकाले अभिभावकलाई तपाईको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौं भन्ने प्रतिबद्धता गरेर भर्ना गराउनुपर्छ, प्रशासकीय अधिकृत यादवले भने, मेरो ठाउँबाट हुने सहयोगमा कदापि पछि हट्दिन । यसरी प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन सकिने विश्वास मलाई लाग्छ ।’’

अभियानकै क्रममा अधिकृत यादवले अभिभावकहरुसँग भेटेर विद्यार्थीहरुलाई विद्यालयमा पठाउन आग्रह गरे । उनले विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र अभिभावकसँगको छलफललाई तीब्र बनाई विद्यार्थी भर्ना अभियानलाई अगाडी बढाउनुपर्ने बताए ।

विद्यालयको भौतिक पूर्वाधार विकासको लागि पनि सिरहा नगरपालिकाले गुरुयोजना बनाएरै अघि बढेको प्रशासकीय अधिकृत यादवले अभियानमार्फत सार्वजनिक गरे ।

सिरहा नगरपालिका वडा नम्बर ६ स्थित श्री आधारभुत विद्यालय बसपिट्टाले दुर्गा मन्दिरका प्राङ्गणमा आयोजित भर्ना अभियानसँगै ‘विद्यार्थी भर्ना अभियान : विगत र वर्तमान’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले पनि सामुदायिक विद्यालयको स्तर उकास्नुपर्नेमा जोड दिए ।

यस्तै सिरहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईन्द्रजित कुमार गोठियाले भर्ना अभियानमा सबैभन्दा ठूलो भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने बताए । उनले यो अभियानसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउदै बिद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे । उनले विद्यालयको शिक्षा गुणस्तरलाई प्रभावकारी बनाउदै अभिभावकको मत जित्न शिक्षकहरुमा अनुरोध गरे ।

अभियानकै क्रममा वडाध्यक्ष गोठियाले वर्तमान समयमा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको अझ आकर्षण बढाउन विभिन्न प्रतिबद्धताहरुपनि सार्वजनिक गरे । उनले सामुदायिक विद्यालयको पठनपाठन प्रति आमसमुदायको विश्वसनियता घट्दै गएकोले नयाँ शैक्षिक सत्र २०८१ का लागि ७ बुँदे घोषणा पत्रनै सार्वजनिक गरे ।

वडाध्यक्ष गोठियाले घोषणा गरेको घोषणा पत्रमा शैक्षिक–सत्र २०८१ मा वडा नम्बर ६ भित्र रहेको सामुदायिक विद्यालयहरुमा बैशाख महिनाभित्र भर्ना गराएका नयाँ विद्यार्थीहरुलाई पोशाक प्रदान गर्ने उल्लेख छ । यस्तै भर्ना गराएको दिनमा नै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

उनले बाल मैत्री, खेलमैत्री, पर्यावरणमैत्री विद्यालय बनाउने, विद्यालयमा मोन्टेश्वरी वतावरण श्रृजना गर्ने, र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वर्षमा २ पटक निःशुल्क स्वास्थ्य जाँच गराउने समेत घोषणा गरेका छन् ।

यसैगरी विद्यालयका प्राधानाध्यापक शत्रुधन प्रसाद यादवले सामुदायिक विद्यालयहरुको भौतिक विकास अझैपनि सोचे अनुरुप हुन नसकेको दुःख व्यक्त गरे । उनले कम्प्युटर ल्याब, खेलमैदानको व्यवस्थापनको लागि आफुहरुले विगतदेखिनै स्थानीय सरकारलाई अनुरोध गर्दै आएपनि अझै पाउन नसकेको दुखेसो पोखे ।

२१ औं शताब्दी र प्रविधिको युगसँगै विद्यालयको शिक्षा प्रणालीलाई अपग्रेड गरे मात्रै सामुदायिक विद्यालयको शिक्षाप्रति अभिभावकको आकर्षण बढ्नेमा उनी आशावादी छन् ।

सिरहा नगरपालिकाको २२ वटै वडामा ५१ वटा सामुदायिक विद्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!