काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबिच सुदूरपश्चिम प्रदेशलाई लिएर छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा करिब १ घन्टा लगाएर भएको छलफलमा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको विषयलाई लिएर छलफल भएको हो।

केन्द्रको सत्ता समिकरण बाहिर गएर सुदूरपश्चिम प्रदेशको सरकार निर्माण हुन लागेको भन्दै छलफल भएको एकीकृत समाजवादीका सम्मानित नेता खनालले बताएका छन्।

उनका अनुसार छलफलमा सुदूरपश्चिमको सत्ता समीकरणमा देखिएका समस्यालाई समझदारीयुक्त बनाउनुपर्ने, सबैको सम्मान र समानतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने कुरा भएको छ।

पछिल्लो समस्याले गठबन्धनभित्र पनि अनेक खालका स्वार्थ र प्रवृत्ति रहेकोमा नेताहरूबिच सचेत हुनुपर्नेबारे छलफल भएको बताए।‘अन्यथा गठबन्धन भित्रैपनि दक्षिणपन्थीहरुले खेलेर यो गठबन्धन फुटाइदिन्छन् भन्ने कुरा भयो,’ उनले भने, ‘यहाँभित्र दम्भ र घमन्डका प्रवृत्ति पनि छन्। ती समस्या समाधान गर्न सकिएन भने गठबन्धन टिक्न गाह्रो हुन्छ।’

नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधान हुने बताए।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री दाबी पेस गर्दा केन्द्रको सत्ता समीकरणलाई अपठ्यारो परेको छ।

केन्द्रको सत्ता समीकरणअनुसार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जितापक्षका कैलाश चौधरीले मुख्यमन्त्री दाबी पेस गरेका छन्। उनलाई एमाले र माओवादी केन्द्रको साथ रहेको छ।

त्यस्तै, नागरिक उन्मुक्तिकै संरक्षक लक्ष्मण किशोर चौधरीलेपनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!