सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरी प्रालिले संस्थागत रुपमा कर छली गरेको घटना सार्वजनिक भएको छ । सो डिस्टिलरीले राजस्व छली गरी मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई/तीन टुक्रा पारी लगाइएको घटना एक जना सञ्चारकर्मीको निगरानीले सार्वजनिक हुन पुगेको छ ।
शारदा डिस्टिलरीले उत्पादन गर्ने गरेको नाउँको मदिरा भारतमा तस्करी हुँदै आईरहेको भन्ने बलियो प्रमाण पनि हो । एकातिर अन्तशुल्क कर छलि गरेको छ भने अर्कोतिर निर्वाध रुपमा भारत तस्करी हुँदै आएको थियो । जसलाई अहिले विराम लागेको छ । कान्तिपुरका पत्रकार विनय आजादले आफ्नो रिर्पोटिङ मार्फत कर छली र भारततर्फ भईरहेको तस्करीलाई उदांगो पारिदिएको छ । घटना गत आईतवारको हो । जब शारदा डिस्टिलरीवाट कर छलि गरेको मदिराको ट्रक सिमावर्ती बजार माडर पुग्यो र खोजविन हुँदा कर छलिसँगै तस्करीको विषय सार्वजनिक भएको हो । पत्रकार आजादले फलोअप गरेपछि कर छलि र तस्करी गर्न भण्डारण गरिएको गोदामलाई आन्तरीक राजश्व विभागका टोलीले अनुसंधानपछि शिल गरेपछि ‘सेटिङ’को खुलासा भएको हो । कार्टुन खोल्दा मदिराका बोतमा एउटा स्टिकर दुई–तीन टुक्रा पारी लगाएको थियो । र यो प्रमाण अहिले आन्तरीक राजश्व कार्यालय लहान सिरहासँग सुरक्षित रहेको छ । एउटा स्टिकरलाई दुई तीन टुक्रा पारी मदिराको बोतलमा लगाइएको फेला परेको अन्तरिक राजस्व कार्यालय लहान सिरहाका प्रमुख पुण्य रिजालले बताएका छन् । उद्योग र स्टोर दुवैको राजश्व छली गरेको भन्दै प्रमुख रिजालले राजस्व छलीको यकिन विवरण अनुसंधान पूरा भएपछि सार्वजनिक हुने बताएका छन् ।

माडर स्थित आशिष जनरल स्टोरवाट बरामद गरिएको ५ सय ७५ कार्टुन मदिरामा राजश्व छलि गरेको प्रमाण फेला परेको प्रमुख रिजालको भनाई छ ।
यसरी लामो समय देखि चल्दै आएको कर छलि र तस्करीलाई विराम लागेपनि यसमा सिरहा जिल्लाका निमायक निकायको संलग्नता रहेको प्रष्ट हुन्छ । एक प्रकारले संगठित रुपमा राज्यसँग कर छलि भएको जानकारहरु बताउँछन् । सिमा क्षेत्रमा रहेको नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी मदिरा भारततर्फ तस्किरी गर्न सहज बनाईदिने सेटिङ रहेको छ । त्यसैगरी उद्योगसँग सिरहा जिल्लाका सुरक्षा अधिकारीलाई मासिक रुपमा पाउने रकमले कर छलिलाई मलजल गर्न मद्दत मिलेको सिरहाका युवा नेता अरबिन्द यादवले बताएका छन् । उद्योगलाई कर छल्न सघाउनेहरुलाई उद्योगवाट मोटो रकम मिल्ने गरेको जानकारहरुको दावी रहेको छ । जसले गर्दा एउटा पत्रकारले कर छलिको यो घटना सार्वजनिक नगर्दासम्म यस्तो सेटिङ निर्वाध रुपमा चल्ने अवस्था रहेको अर्का युवा अरुण गुर्मैताले बताए । ‘विना सेटिङ कर छल्न सक्नु र भारत मदिरा तस्करी हुन सक्दैन,’ गुर्मैताले भने, ‘यसमा सुरक्षा निकायसँगै कर कार्यालयको पनि मिलोमतोका प्रबल सम्भावना छ । कर कार्यालयबाट उद्योगलाई निगरानी किन गर्न सकिएन् ?’
यस घटनामा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सन्तोष आर्चाय, सशस्त्र प्रहरी बल हेक्वा सिरहाका एसपी शिव प्रसाद गैरे, राष्ट्रिय अनुसंधान विभाग सिरहाका प्रमुख टिका प्रसाद पोखरेलसँगै आन्तरीक राजश्व कार्यालय लहानका प्रमुख रिजालमाथि पनि अनुसंधान हुनुपर्ने माग उठेको छ । निमायक निकाय र सुरक्षा निकाय विना यसरी संस्थागत रुपमा कर छलि र ठूलो परिमाणमा मदिरा भारत तस्करी हुने अवस्था नभएको सिरहाका नागरिक अगुवाहरुको भनाई रहेको छ ।



