सिरहा । सिरहा नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम लागू भएको छ । यस सम्बन्धि एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिरहा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिरहाले “शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री” सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर गरेको छ । एक समारोहको आयोजना गर्दौ सिरहा नगरपालिका र जिल्ला प्रहरी कार्यालयले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सन्तोष आचार्यले सम्झौता गरिएको पाठ्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको जनाएको छ । ‘स्थानीय तह प्रहरी विद्यालय कार्यक्रम पुस्तक’मा साइबरअपराध, सामाजिक अपराधहरु, घरेलुहिंसा, सामाजिक सद्भाव, विपद् जोखिम न्यूनीकरण, ट्राफिक व्यवस्थापन लगायतका विभिन्न २४ विषय समावेश गरिएको एसपी आचार्यले उल्लेख गरे ।

आचार्यका अनुसार पुस्तकमा घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, सिरहा जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएको आचार्यले बताए ।
स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको एसपी आचार्यले बताए । शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको भन्दै एसपी आचार्यले बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएको बताए ।

सिरहा जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्ने भन्दै एसपी आचार्यले धेरैजसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुने गरेकोले कार्यक्रम प्रभावकारी हुने बताए ।
साइबर अपराध, यौन हिंसा, लागुऔषधजस्ता अपराध समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोरकिशोरी बढी प्रभावित भए पछि कार्यालयले पाठ्य सामग्री नै तयार पारेको हो । अन्य पालिकासँग पनि सम्झौता गरी पुस्तकमा उल्लेख भएका विषयहरु अध्यापन गराइने तयारीमा जिल्ला प्रहरी कार्यालय सिरहा रहेको छ ।

सिरहा नगरपालिकामा पाठ्यपुस्तक हस्तान्तरणपछि मेयर डा. नविन कुमार यादवले भौतिक पूर्वाधारमा जोड दिने कार्यसँगै समाजको चरित्र सुधार्ने काममा पनि लाग्नुपर्ने बताए । सबैले हातेमालो गरेर अघि बढेमा समाजमा अपराध रोक्न सकिने भन्दै उनले पुस्तक अपराध न्यूनीकरण गर्न कोसेढुङ्गा सावित हुने बताए ।
सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको रोहवरमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) सन्तोष आचार्य र नगरपालिकाको शिक्षा शाखा प्रमुख काशिन्द्र प्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्रीसमेत सार्वजनिक गरिएको थियो ।

सो अवसरमा नगरपालिकाका उपमेयर बविता कुमारी साहले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामग्री बहुउपयोगी बन्ने बताइन् । सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामग्री विद्यालयमा पु¥याउनु महत्वपूर्ण काम भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न विद्यालयलाई आग्रह गरेका छन् । विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!