सिरहा । नेकपा एमालेका पूराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आज ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ खरही टोलमा २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो।
लामो समयदेखि विभिन्न पीडित यादव केही समय पहिला प्यारालाईसीसले थलीएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नगरपालिका ६ मा बस्दै आएको र उनको आज अपरान्ह मृत्यु भएको नेकपा एमालेका कार्यबाहक जिल्ला अध्यक्षसमेत रहेका सिरहा नगरपालिका नगर प्रमुख डा नविन कुमार यादवले जानकारी दिए ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जनाए। सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै यादव २०७६ कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख सिफारिस भएका थिए।
यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेका थिए। त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहे। २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट अवकास लिएका थिए। त्यसपछि पनि ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि उनी पराजीत भए ।
राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी विचार र व्यवहारले पक्का र इमान्दार नेताकारुपमा परिचित थिए।
उनको शव आजै जन्मथलो सिरहाको सुखिपुर लाग्ने तयारई भईरहेको जनाएको छ।



