सिरहा । सिरहा नगरपालिकाको कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरी लगायत कार्यक्रम गरेको छ । प्रत्येक वर्षको मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन विभिन्न संघ–संस्थाको सहभागीतामा सिरहा सदरमुकाममा प्रभातफेरी गरेको थियो ।


साथै, उक्त अवसरमा सिरहा नगरपालिका भित्र आफ्नो ब्यापार गरि जिवान चलाईरहेका ५ जना महिला श्रमिकलाई सम्मान समेत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले महिला दिवस मनाउँदा यसको उपलब्धीतर्फ पनि सबैले मनन गर्नुपर्ने बताए । उनले महिलामाथि हुने अत्याचार, विभेदको अन्त्य गर्नका लागि सरोकारवालाहरु एकसाथ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।
सिरहा नगरपालिकाकी उपमेयर बबिता कुमार साहले शिक्षाको अभावले समाजमा अझै पनि महिलामाथि विभेद भएको बताउँदै परिवारबाटै व्यवहारमा परिवर्तन ल्याए समग्र समाज परिवर्तन हुने बताइन् । ‘महिलाहरुमाथि महिलाबाटै समेत विभेद हुने गरेको पाइएकोले सोच परिवर्तन गर्न जरुरी छ’ उनले भनिन्, ‘सुरुवात आफैबाट गरे पक्कै पनि समाजमा परिवर्तन हुन्छ ।’
सामाजिक अभियन्ता तथा प्रदेश युवा संजाल मधेस प्रदेशका अध्यक्ष मो. नइम राईनले लैंगिक समानता र सशक्तिकरणका लागि राज्यले लगानी गर्दै राज्यको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागीता र निर्णयमा महिलालाई अगाडि बढाउने अहिलेको आवश्यकता सवालमा कार्य गर्नपर्ने बताइन् ।
उनले भनिन्, ‘नीति निर्माण तहमा महिलालाई अगाडि बढाउन क्षमता अभिवृद्धि गर्नुपर्ने र पुरुषले पनि यसको लागि वातावरण मिलाउँदै महिलावादी सोचको विकास जरुरी छ । महिलाभित्रको विविधतालाई केन्द्रित गरी तीनै सरकारको नीति योजना र कार्यक्रम लैंगिकमैत्री जरुरी छ । समानताका लागि हामीले सोच र मानसिकतामा परिवर्तन गरौं ।’ सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, राजनीति सबैको विकासमा महिला कहाँ र कुन अवस्थामा भन्ने विश्लेषण गर्दै जानुपर्ने राईनले बताए ।

सिरहा नगरपालिकाकी उपमेयर बबिता कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, सशस्त्र प्रहरी सिरहाका प्रहरी उपरीक्षक (एसपी) शिव प्रसाद गैरै, प्रदेश युवा संजाल मधेस प्रदेश अध्यक्ष मो. नइम राईन, सिरहा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख जीवन कुमारी मगर, महिला अधिकारकर्मी रेणु कर्ण, जिल्ला समन्वय समितिकी सदस्य गिता पासवान लगायत समाजसेवी पत्रकार, संघ–संस्थाका प्रतिनिधि,बिद्यार्थी र स्थानीय बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।



