सिरहा । नगरपालिका तथा गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक तथा धार्मिक सम्पत्ति संरक्षणका लागि स्थानीय सरकार र सरोकारवालाहरूलाई जवाफदेही बनाउन दबाब दिने उद्देश्यले सिरहाको कर्जन्हा नगरपालिका–१ कमला नदीको उत्तरबाहिनीबाट शुक्रबार देखि थालिएको तीनदिने पैदल यात्रा आइतबार समापन गरेको छ ।
पैदल यात्राअन्तर्गत कर्जन्हा नगरपालिकाका–११, कल्याणपुर नगरपालिका–१२ तथा विष्णुपुर गाउँपालिका क्षेत्रका पाँच गरी २८ वटा वडा क्षेत्रमा पर्ने सार्वजनिक तथा धार्मिक स्थलको स्थलगत अवलोकन, स्थानीयसँग अन्तक्रिया गरी संरक्षणका लागि स्थानीय सरकार र सरोकारवालाहरूलाई घचघच्याइएको यात्रामा सहभागी कल्याणपुर–१० का सुभेन्द्र कुमार साहले बताए ।
कर्जन्हा नगरपालिकामा उपप्रमुखकी प्रत्याशी कल्याणी ढुंगाना सहित स्थानीय युवाहरू जितेन्द्र यादव, विनोद कुमार श्रेष्ठ, सुरेन्द्र यादव लगायत सहभागी पैदल यात्राको टोली शुक्रबार दिनभर विभिन्न वडा घुमेर साँझ कर्जन्हा नगरपालिका–७ प्रेमनगरमा, शनिबार कल्याणपुर नगर क्षेत्रका सार्वजनिक तथा धार्मिक स्थलको अवलोकन गरी राति कल्याणपुर बजारमा बसी आइतबार विष्णुपुर गाउँपालिकाका विभिन्न वडा हुँदै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी वासुदेव दहाललाई ज्ञापनपत्र बुझाइएको सहभागी जितेन्द्र यादवले बताए ।
अवैध उत्खनन रोक्नेदेखि मदरसामा राष्ट्रिय गीतसम्मका ११ बुँदे माग सामाजिक अभियन्ताहरूको समूहले तीनदिने पैदल यात्राको क्रममा पवित्र मानने कमला नदीमा भइरहेको अनधिकृत उत्खनन रोक्नेदेखि जिल्लाभर रहेका मदरसाहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय गीत अनिवार्य गरिनुपर्ने सहित ११ बुँदे माग गरेका छन् ।
कर्जन्हा नगरपालिका–१ स्थित नन्दमोहरी नन्दबाबा गुठी तथा मन्दिरको सम्पत्ति गुठीको नाममा नामसारी गरिनुपर्ने, बन्दीपुरस्थित रामजानकी मन्दिरको जग्गा मन्दिरकै नाममा नामसारी र सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्ति संरक्षणको माग गरिएको छ ।
त्यस्तै, कर्जन्हा नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय स्थलसहित सार्वजनिक सम्पत्ति जल, जंगल, जमिनको संरक्षण, कल्याणपुर नगर क्षेत्रमा पर्ने रामजानकी गुठीको संरक्षण, विष्णुपुर गाउँपालिकामा पर्ने तीन सय बिघा सार्वजनिक जग्गा तथा रामजानकी मन्दिरको १५ बिघा जग्गामाथि भइरहेको जालझेल बन्द गरी तत्काल मन्दिरको नाममा नामसारी गरिनुपर्ने माग गरिएको छ ।
कल्याणपुर नगर क्षेत्रमा पर्ने सार्वजनिक पोखरी, रजैया सडकलगायत सार्वजनिक तथा ग्रामीण बजारको अतिक्रमण गरिएको जग्गा, रामकविरको नाममा दान गरिएको जग्गा तथा सिरहा स्थित सलहेश मन्दिरको नाममा कायम रहेको अतिक्रमण गरिएको जग्गा सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।