सिरहा । सिरहा नगरपालिकाले लघु उद्यमीहरुलाई उपकरण वितरण गरेको छ । नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लद्यु उद्यमीहरुलाई बुधबार उपकरण वितरण गरिएको हो । वडा नम्बर ८ मा उपकरण हस्तान्तरण भएको छ ।
उद्यमीहरूलाई सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले सो उपकरण वितरण गरेका हुन् । हस्तान्तरणपछि बोल्दै मेयर डा. यादवले नगरवासीलाई दक्ष बनाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताए । उनले नगरवासीको मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउँदै आएको जानकारी दिए । मेयर डा यादवले आगामी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधि उपकरण हस्तान्तरण गरिने प्रतिबद्धता गरे ।


आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नेपाल सरकारको सशर्त कार्यक्रम तर्फ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन र लाह चुराको लागि ग्यास चुल्हा सहयोग गरिएको वरिष्ठ उद्यम विकास सहजकर्ता पवन कुमार अधिकारीले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको अधिकारीले बताए ।
वडा नं ८ स्थित दास टोलमा लघुउद्यमी समूहलाई रु एक लाख ४० हजार मूल्य बराबरको उपकरण सहयोग गरिएको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरूलाई उपकरण हस्तान्तरण गरिएको अधिकारीले बताए ।
‘लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि उपकरण हस्तान्तरण गरेका हौँ’, अधिकारीले भने ।



