सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्य नारायण यादवले सवै मिलेर गाउँसभा सम्पन्न गर्न आग्रह गरेका छन् । विष्णुपुर गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले गाउँसभा नहुँदा बालबालिकाको दिवा खाजा, स्वास्थ्य संस्थाहरुमा औषधी अभाव, कर्मचारीहरुले तलबत्ता, बालबालिकादेखि जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भक्तासँगै विकास निर्माण कार्य प्रभावित बनेकोले तत्काल संवादमा आएर निकास निकाल्न आग्रह गरेका छन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न भएको योजना, कार्यक्रमहरुको भुक्तानी दिन बाकी रहेको रकमको यस आर्थिक वर्ष २०८०/०८१ मा भुक्तानीको सुनिश्चितता, ठेक्का प्रकृया हुन नसेको पोखरीहरुको ठेक्का लगाएर आन्तरीक आम्दानी बढाउनु पर्ने भएकोले गाउँ सभाका निर्वाचित सदस्यसँगै कर्मचारीहरुले समन्वय गरी निकास निकाल्नुपर्ने बताएका छन् । गाउँसभा गर्न आफू तयार रहेको भन्दै अध्यक्ष यादवले नागरिकलाई सेवा प्रवाह अवरुद्ध हुँदा कठिनाई भईरहेकोले त्यसलाई रोकेर तत्काल सभा सम्पन्न गर्न सवैपक्ष तयार भएर अगाडी बढ्नु पर्ने बताएका छन् ।

गाउँपालिकालाई नमुना बनाउन सवै निर्वाचित जनप्रतिनिधि र जिम्मेवार कर्मचारीहरुको भूमिका भएको भन्दै अध्यक्ष यादवले दिपावली अगाडी नै गाउँ सभा सम्पन्न गरी गाउँपालिकाको सवैकामकाज सुचारु गर्ने तयारीमा जुट्न सवैलाई आग्रह गरेका छन् । २९ जना निर्वाचित जनप्रतिनिधिमध्ये आफू एक्लो एउटा दलबाट निर्वाचित भएकोले दलीय समिकरण भन्दा नागरिकलाई सेवा प्रवाह र सुविधा प्रदान गर्दै गाउँपालिकाभित्र विकास निर्माणलाई गति दिनुपर्ने अध्यक्ष यादवले आग्रह गरेका छन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले गाउँसभा नहुँदा अति आवश्यक क्षेत्रमा असर देखिन थालेकोले तत्काल सभा गर्न समन्वय गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्यसँगै प्रशासनिक कामकाज समेत प्रभावित भईरहेकोले गाउँपालिका सवै सभा सदस्य, कार्यपालिका सदस्यहरुलाई पटकपटक लिखित ध्यानकषर्ण गराएको भन्दै प्रशासकीय अधिकृत यादवले निकास निकाल्न आफू तयार रहेको बताएका छन् ।

धर्ना दोस्रो दिन पनि जारी
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले धर्नामा बसेका कर्मचारीहरुलाई धर्ना रोकेर कामकाज गर्न र गाउँसभा गर्न समन्वय गर्न आग्रह गरिरहँदा धर्ना रोकिएको छैन् । दोस्रो दिनपनि धर्नामा शिक्षा, स्वास्थ्य, प्रशासन लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरु धर्नामा बसेका थिए । धर्नाका कारण गाउँपालिकाको प्रशासनिकसँगै शिक्षा, स्वास्थ्य, वडा कार्यालयहरुको कामकाज प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!