प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइप्रति चासो राखेका छन् ।
जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री छिटो गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘नेपालीको उद्धारमा जहाज पठाउन किन ढिलाइ भएको भनेर प्रधानमन्त्रीले जानकारी लिन खोज्नुभएको थियो । छिटो जहाज पठाउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो । सरोकारवालाहरूले ट्रान्जिट जहाजको उडानका लागि सम्बन्धित देशको अनुमति लिने प्रक्रियाले केही समय लागे पनि आजै राति जहाज पठाउने बताउनुभएको छ ।’
सोही छलफलपछि सरकारले आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायलको तेलअभिव पठाउने जनाएको छ ।
जहाजमा नेपाल फर्किन चाहने नेपाली र हमासको आक्रमणमा मारिएका १० जनाको शव ल्याउने तयारी छ ।