सिरहा । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताएका छन् ।

सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’ मा नेता गिरिको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्व. नेता गिरिको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले स्व नेता गिरिबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेकोे बताएका छन् । ‘प्रदिप गिरि मौलिक र विलक्षण चिन्तनको धनी, दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने स्व नेता गिरिको आफ्नै मौलिक दृष्टिकोण थियो । जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले स्व नेता गिरिलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन् ।,’ प्रधानमन्त्री दहालले भने, ‘प्रदिप गिरिको तुलना अरु कोहीसँग गर्न कठिन छ । उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ ।’

त्यसैगरी नेता गिरिको निधनले आउने पुस्ताका लागि विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास रहेको उनले बताएका छन् ।
यस्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिरहाको बस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व.प्रदिप गिरिको सिरहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा.महतले प्रदीप गिरी ज्ञानको खानी, सादगी र सरलता सबैका लागि अनुकरणीय रहेको बताए ।

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं । अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्व अझ बढेको छ ।’
स्वर्गीय गिरीको भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थालेको उनको भनाई छ । प्रदीप गिरीको जीवनकाल आम जनताले जाने बुझ्न र आत्मसात गर्न सक्नु आवश्यक रहेको उनले बताए । स्वर्गीय गिरीले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान सुरु गरेको उनले स्मरण गरे ।


कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्वमन्त्रीहरू मात्रिकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शंकर नायक, सीतादेवी यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरिको पूर्णकदको शालिक अनावरण गरेका छन् । समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरिको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लहान नगरपालिका–१४ को खुट्टी खोलाको छेउमा गिरि वि.सं २०४६ पछि बस्दै आएको ठाउँलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्व गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत वर्ष भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!