जनकपुर । प्रहरीले मधेश प्रदेशका विभिन्न स्थानबाट एक महिनाको अवधिमा झन्डै ९ करोड रुपैयाँ बराबरको चोरी पैठारीका सामान बरामद गरेको छ ।
दुवै देशबीच रहेको खुला सीमाका कारण सीमावर्ती भारतीय बजारबाट चोरी पैठारीको क्रम बढेपछि प्रहरीले सीमा नाकामा निगरानी र सक्रियता बढाएपछि भन्सार छली ल्याइएका सो बराबरका सामान बरामद गरेको हो ।

बरामद गरिएका अवैध सामग्रीहरूमा किराना, विद्युतीय, सवारीसाधनका पार्टपुर्जा, लत्ताकपडा, सौन्दर्य सामग्रीलगायत छन् ।
भारतीय बजारमा लादै गरिएको १० लाख मूल्य बराबरको पौने दश किलो चाँदीसमेत रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसै गरी लुकीछिपी नेपालबाट भारततर्फ लग्न थालिएको ३ सय २५ किलो गाँजा, ५ किलो ७ सय ग्राम चरेसका साथै भारतीय बजारबाट नेपाल भित्र्याउन थालिएको विभिन्न प्रकारका प्रतिबन्धित औषधीसहित ८१ जना पुरुष र ६ महिला सहित ८७ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।



