सिरहा । राष्ट्रिय भूमि आयोग सिरहाले सामुदायिक विद्यालयको जग्गा व्यक्तिको नाउँमा गर्ने गरी हकदावी सूचना निकालेपछि बबाल मचेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति सिरहाले केही दिन अघि जग्गाको हकभोग गर्ने गरी सूचना प्रकाशन गरेको छ । आयोगले साबिक हनुमाननगर प्रम गाउँविकास समिति वडा नम्बर ८‘ख’ (हाल सिरहा नगरपालिका–१० नरैहिया)को कित्ता नं. २४९ को ३ विग्हा ४ कट्ठा १५ धुर जग्गा व्यक्तिको नाउँमा नामसारी गर्ने गरी हकदावी सूचना प्रकाशित गरेको छ । आयोगका अध्यक्ष रामअधिन यादवले सुकुम्बासीको जग्गा वितरणको नाउँमा अवैध रुपमा साँठघाठ गरी रकम असुल्ने गरेको जानकारहरु बताउँछन् । हकदावीको सूचना निकाल्दा गरिब, सुकुम्बासी वाहेकका सयौं जनाको नाउँमा धेरै क्षेत्रफलको जग्गा रहेको र त्यसमा आयोग अध्यक्ष यादवको आर्थिक लेनदेनले सम्भव भएको आयोगको गतिविधि नजिकबाट नियाल्दै गरेका एकजना नागरिक अगुवाले बताएका छन् ।
सो जग्गा सिरहा नगरपालिका–१० नरैहियामा रहेको आधारभूत विद्यालय सुन्दरपुरको रहेको छ । तर तात्कालिन सुकुम्बासी समस्या समाधान आयोगका पदाधिकारी, कर्मचारी, नापी कार्यालयका कर्मचारी लगायतको मिलोमतोमा सिरहा नगरपालिका–१० नरैहियाका बिरे मुखियाको नाममा नामसारी गरिएको लालपूर्जामा उल्लेख छ । तात्कालिन सुकुम्बासी समस्या समाधान आयोगले मुखियाको नाउँमा जारी गरेको जग्गाधनी दर्ता श्रेस्तामा नापी निरिक्षक हरिचन्द्र र अध्यक्ष प्रमोद ठाकुरको हस्ताक्षर देखिएको छ । यता आधारभूत विद्यालय सुन्दरपुरले विद्यालयको नाउँमा रहेको जग्गा किर्ते गरी धनी पूर्जा बनाएको भन्दै छानबिन गर्न विभिन्न निकायमा पत्रचार गरेको छ ।
सिरहा नगरपालिका वडा नम्बर १० वडा कार्यालय, मालपोत कार्यालय सिरहा, राष्ट्रिय भूमि आयोग लगायतका सरकारी निकायमा साउन ३२ मा पत्राचार गर्दै बिरे मुखियाले विद्यालयको नाउँमा रहेको जग्गाको सुकुम्वासी समस्या समाधान आयोगवाट किर्ते जग्गाधनी दर्ता श्रेस्ता बनाएर हकदावी गरिरहेको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेको छ । विद्यालयका प्रध्यानाध्यापक कृष्णदेव यादवले विद्यालयको जग्गा हड्पन किर्ते कागजात तयार गरेकोले छानबिन गर्न विभिन्न सरकारी निकायलाई गुहारेको बताएका छ ।
सो जग्गा आफूले भर्खरै १३ लाख ६६ हजार रुपैयाँमा ठेक्का लगाईसकेको र किर्तेगरी जग्गा हड्पन खोजेपछि सरकारी कार्यालयमा उजुरी गरेको प्रअ यादवले बताएका छन् ।
यसैवीच जग्गाधनी बिरे मुखियाले कारबाहीबाट जोगिन राष्ट्रिय भूमी आयोग जिल्ला समिति सिरहामा जग्गा फिर्ताको निवेदन दर्ता गराएका छन् । मेरो नाउँमा दर्ता गराई लालपूर्जा समेत बनाई दिएको जग्गा हाल आधारभूत विद्यालय सुन्दरपुरकै नाउँमा रहनेगरी मेरो नाउँको उक्त जग्गा बदर गर्न निवेदन पेश गरेको छ । तात्कालिन अवस्थामा सुकुम्बासी समस्या आयोगमा जग्गा प्राप्ती गर्न आफूले निवेदन दिएको र पछि वैदेशिक रोजगारीमा गएको बताउँदै मुखियाले कसरी आफ्नो नाउँमा यत्रो जग्गा आएको थाहा नभएको दावी गरेका छन् ।
यता विद्यालयको जग्गा किर्ते गरिएको विषयलाई लिएर स्थानीयवासीले आईतवार छलफल गरेका थिए । विद्यालयको जग्गा किर्ते गरेको बिरे मुखियालाई कारबाहीको माग गर्दै वडाभित्र रहेको सार्वजनिक, ऐलानी जग्गा, पोखरीहरुको संरक्षण गर्नुपर्ने निर्णय गरेका छन् । स्थानीय अशेश्वर कामतीले जग्गा किर्तेको विषयमा अख्यियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी गरेको बताएका छन् ।
फर्जि कागजात तयार गरी मोलमलाई गर्ने कार्य सिरहा मालपोत कार्यालयबाट नै हुने गरेको पटक पटक सार्वजनिक हुँदै आएको छ । मालपोत कार्यालय सिरहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले नै यस्तो किर्ते कागजात तयार गर्ने गरेको मालपोत कार्यालयमा कार्यरत एक लेखापढी कानून व्यवसायीको भनाई छ । मालपोत कार्यालय सिरहाको तामेली शाखाको जिम्मेवारी कार्यालय सहयोगी रायलाई रहेकोले छ । यता कार्यालय सहयोगी रायले आफूलाई यसबारेमा केही थाहा नभएको भन्दै पन्छिएका छन् । पटकपटक जग्गाको अवैध कारोबारमा नाम मुछिएपनि कार्यालय सहयोगी राय उम्किन सफल हुन्छ ।
यस विषयमा आफूलाई थाहा नभएको भन्दै मालपोत कार्यालय सिरहाका प्रमुख षड् कुमार पोखरेलले भने,‘के छ विवरण पठाई दिनुस्, त्यसलाई हामीले हेरेर रोक्छौ ।’