सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान स्टेशनरीका होलसेल व्यवसायीको शव भेटिएको छ । मिर्चैया कटारी सडकको कटारी चोकस्थित शम्भु होटेल पछाडि विराटनगरस्थित पाथीभरा कापी उद्योगका संचालक करिब २५ वर्षीय सिद्धान्त भट्टराईको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मिर्चैया प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार होटलको पछाडि शौचालय नजिक मृत अवस्थामा भेटिएका मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् ।

‘विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया आइसकेका छन्’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने ‘घटनास्थलमा रहेको प्रहरीले मुचुल्का उठाएर मृतकको परवारजनसँगको सल्लाहको आधारमा भनेको ठाउँमा शव पोष्टकमार्टका लागि पठाउँदै छौं ।’ उनका अनुसार शव पोष्टमार्टमका लागि पठाएपछि होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज, घटनास्थलको आधारमा तत्काल अनुसन्धान थालिने छ ।
शम्भु होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका छन् । उनको घाँटी सिक्रि र पाइन्टको गोजिमा मोबाइल देख्न सकिन्छ । भट्टराई मंगलबार बेलुका को.१ च ९१७२ नं. को पिकअप जिपमा कापीको मार्केटिङ् गरी चालक सागर राईसँग सहदेव होटलमा बास बस्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जना मिलेर सहदेव होटलमा खाजा खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटलमा गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ ।
चालक राइले गएराति १ बजेतिर होटल मालिकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको अवस्थामा शव भेटिएको जानकारी गराएपछि तत्काल आफन्त र प्रहरीलाई खवर गरेका थिए ।




