काठमाडौँ । बाग्लुङ बुर्तिबाङका धनबहादुर (नाम परिवर्तन) घरबाट बिदा मागेर काठमाडौँ हानिए । वैदेशिक रोजगारीका लागि कुवेत जान उनी घरबाट टीकाटालो भई बिदाइ भएर आएका थिए ।
त्यति भनेपछि कुवेत जान हिँडेको मान्छे कतै प्रहरी लगाएर थुनाइदियो भने के हुन्छ भन्ने डरले उनी चुप लागे । अध्यागमनले उनीहरूलाई एउटा हलमा लगेर राखिदियो । र, उनीहरूलाई मेनपावर व्यवसायीले नक्कली कागजात दिएर बेच्नलाई पठाउन लागेको भन्दै अध्यागमनका कर्मचारीले क्लास दिए ।

होटल क्षेत्रमा काम गर्ने भन्दै फ्रि भिसा फ्रि टिकटमार्फत् कुवेत जान लागेका थिए उनी । उनलाई के कति कारणले रोकिएको हो अझै थाहा छैन ।
‘कागजात शङ्कास्पद देखियो भनेको छ । तर, कुन कागजात शङ्कास्पद देखियो केही भनेनन् । सिधै फर्काईदियो । कुवेत जाने घरबाट बिदा लिएर आएका हामीलाई अध्यागमनकै कारण अलपत्र परियो,’ रातोपाटीसँगको कुराकानीमा उनले भने ।
उनीसँगै उनको समूहमा रहेका १६ जनालाई रोकिएको थियो । यात्रामा रोक लगाएर उनको हातमा एउटा पत्र थमाइयो । जसमा लेखिएको थियो,– …निजले पेश गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको । जसमा डेस्क अफिसर र प्रस्थान अफिसियलको हस्ताक्षर थियो ।
अध्यागमनले रोकेपछि उनी साथीहरूसँग काठमाडौँमा बसिरहेका छन् । उनीहरूलाई अहिलेसम्म सम्बन्धित मेनपावर व्यवसायीले नै होटलमा राखेको हो ।
यतिबेला उनी न घर फर्किन सक्ने अवस्थामा छन् । न विदेश कहिले उड्न पाइन्छ भन्ने टुङ्गो नै छ ।
‘यसरी रोक्नुपर्ने कारण के थियो ? त्यो पनि जानकारी दिइएको छैन । त्यत्तिकै तपाईंको भिसा देखिएन भनियो । जबकि भिसा देखाइरहेको छ । यतिसम्म कि डकुमेन्ट फेक रहेछ भनियो । फेक हो भने आजसम्म सम्बन्धित निकायलाई कारबाही किन नगरेको ?’ उनले प्रश्न गरे ।
उनीसँगै केहीलाई भने अध्यागमनले जान दिएको थियो । तर, उनीहरूलाई रोकेको हो । ‘मसँग भिसा लगाएका साथीहरू कुवेत पुगेर आजदेखि काममा पनि लागिसके । तर, आफ्नो भने टुङ्गो छैन,’ उनले भने ।
अध्यागमनले अराइभल टाइम भन्दा ढिला आएको, वर्किङ भिसा नदेखाएको, कागजात नक्कली भएको कारण देखाउँदै कुवेत र जोर्डन जान लागेका १३२ जनालाई रोकेको थियो ।
यो विषयमा मेनपावर व्यवसायी र अध्यागमनबीच आरोप प्रत्यारोप भइरहेको छ । अध्यागमनले आफ्नो अडान छोडेको छैन भने व्यवसायीहरूले अध्यागमनका कर्मचारीको मुडको भरमा रोकेको आरोप लगाउँदै आएका छन् ।




