सिरहा । मधेश प्रदेशको विरगंजमा रहेको ‘मधेश विश्वविद्यालय’ ले सिरहामा रणनैतिक योजना, नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वविद्यालय स्थापना भएको ९ महीनामा शैक्षिकसत्र सुरु गर्नुपूर्व प्रदेशको आठवटै जिल्लामा अन्तरक्रियालाई जोड दिएको छ । प्रदेशको शैक्षिक सूचांक कमजोर रहेको, ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको विषयलाई केन्द्रमा राख्दै मधेश विश्वविद्यालयलाई कस्तो पाठ्यक्रम र कस्तो योजना अनुसार अगाडि बढाउने विषयमा अन्तरक्रिया केन्द्रित रहेको मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक बहादुर शाक्यले बताएका छन् ।
सदरमुकाम सिरहा स्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको सभाहलमा भएको अन्तरक्रियामा विश्वविद्यालय स्थापना गरेर उपलब्धि हासिल नहुने भन्दै सिरहा क्याम्पसका प्राध्यापकहरुले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सर्टिफिकेटको महत्व हुने गरि शैक्षिकसत्र संचालनमा जुट्न आग्रह गरेका थिए । राजनीतिमुक्त मधेश विश्वविद्यालय बनाउन सकिएमा र यहाँको मौलिकता अनुकुल विषय र रिसर्च हुन सकेमा लाभदायक हुने प्राध्यापकहरुले सुझाव दिएका थिए ।

प्राध्यापक संघका पूर्व केन्द्रिय सभापति योगेन्द्र नारायण बरबरीया, प्राध्यापक अशोक कुमार यादव, आनन्द कुमार यादव, ब्रहमदेव यादव, विरेन्द्र कुमार यादव लगायतले सुझाव दिएका थिए । अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपती उपेन्द्र कुमार कोइराला, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय कुमार यादव लगायत सहभागी थिए । अन्तरक्रियामा विश्वविद्यालयको अवधारणा, मोडालिटी, कार्यान्वयनको पाटो र शैक्षिक गुणस्तरको विषयमा केन्द्रित रहेको थियो ।



