सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति करिब ११ः४५ बजे पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेशको यात्रुवाहक बस जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार बसमा सवार धनगढीमाई नगरपालिका–७ का २० वर्षीय अजयकुमार यादवको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।
बरामद पदार्थ प्लास्टिकसहित तौल गर्दा १० ग्राम ४१० मिलिग्राम र प्लास्टिक हटाउँदा ५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले यादवको साथबाट सामसुङ कम्पनीको एक थान स्क्रिन टच मोबाइलसमेत बरामद गरेको छ ।
बरामद पदार्थसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




