सिरहा । सिरहा नगरपालिकाको ७ औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एक अर्ब ७ करोड ५९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले नगरसभाबाट चालू आर्थिक वर्षको प्रगति विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि एक अर्ब ७ करोड ५९ लाख ५७ हजार रुपैयाँको आय विवरणसहित बजेट पारित गरिएको हो ।
केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि सिरहा नगरपालिकाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले बताए ।
उपप्रमुख बबिता कुमारी साहले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् ।

आगामी बजेटमा संघ सरकारबाट वित्तीय समानीकरणमा १८ करोड २४ लाख, सशर्त अनुदान चालूतर्फ ४६ करोड ७२ लाख, संघीय सरकार समपूरक अनुदान ८० लाख, संघीय विशेष अनुदान २ करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा एक करोड ४० लाख ३० हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, संघीय राजश्व बाँडफाँड १४ करोड ९२ लाख २७, आन्तरिक स्रोत अनुमानित ३ करोड, अन्य आय अनुमानित २० करोड लगायत गरी १ करोड ५९ लाख ५७ हजारको अनुमानित बजेट पारित भएको छ ।
नगर प्रमुख डा नविन कुमार यादवको अध्यक्षातामा भएको कार्यक्रममा उप–प्रमुख बबिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव लगायत वडा नं. १ देखि २२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडासदस्य, महिला सदस्य, दलित महिला सदस्य, नगरपालिकाका कर्मचारीहरु लगायत संचारकर्मीको सहभागितामा नगरसभा सम्पन्न भएको सिरहा नगरपालिका लेखापाल सुनिल कुमार यादवले बताएकाछन् ।



