सिरहा । जिल्ला अदालत सिरहाको बेञ्च र बारवीच सहमति भएसँगै तत्काललाई इजलाश बहिस्कार स्थगन गरिएको छ । दुई पक्षवीच छलफल भएर सहमतीमा पुगेसँगै दुई दिनदेखी ठप्प भएको जिल्ला अदालत सिरहाको इजलाश आजवाट सुचारु भएको छ । बार र बेञ्चवीच भएको छलफलमा २ नम्बर इजलाशका न्यायधिश लीलाराज अधिकारीले आचरणमा सुधार गर्ने प्रतिबद्धता जनाएपछि इजलाश बहिस्कारको आन्दोलनवाट बार एशोसिएन तत्कालको लागि पछि हटेको सचिव गोपी प्रसाद सिंहले बताएका छन् । बारको कार्यसमिति बैठकले आचरणमा सुधार गर्ने र कार्यशैलीमा परितर्वन ल्याउने प्रतिबद्धता भएपछि तत्काललाई २ नम्बर इजलाश बहिस्कारको निर्णय स्थगन गरिएको बारका सचिव सिंहले भने,‘बारले न्यायधिश लीलाराज अधिकारीको बेञ्च बहिस्कारको बाबजूत डेढ महिनापछि गोलप्रथामा सहभागी भएपछि त्यसलाई कडा रुपमा लिएर छलफल सुरु गर्यो ।’
बारको अह्वानमा विहिवार बसेको सामुहिक भेलामा बारका पदाधिकारी र अधिवक्ताहरु न्यायधिश अधिकारीको विषयमा छलफल भएको थियो । सामुहिक भेलामा आचरणमा सुधार गर्ने, कार्यशैली र व्यवहारमा सुधार गर्ने गरी सुध्रिने मौका दिने निर्णय गरेका थिए । सामुहिक भेलापछि बारको कार्यसमितिको बैठक बसेको थियो । बैठकले सामुहिक भेलाको विषयलाई अनुमोदन गर्दै बार र बेञ्चवीच छलफल गर्ने निर्णय गरेको सचिव सिंहले बताए । बार र बेञ्चवीच भएको बैठकमा आफ्नो आचरणमा सुधार गर्ने र कार्यशैलीमा परिवर्तन ल्याउने प्रतिबद्धता न्यायधिश अधिकारवाट भएको सचिव सिंहले बताए । बार र बेञ्चवीचको सहमतिलाई बार कार्यसमिति दोस्रो बैठक बसेर निर्णयमा पुगेका छ । ‘न्यायधिशज्यूवाट कार्यशैलीमा सुधार ल्याउने प्रतिबद्धा आएको छ,’ सचिव सिंहले भने,‘प्रतिबद्धता पालना हुन्छ वा हुँदैन त्यो हेर्न तत्काल बेञ्च बहिस्कार स्थगन गर्ने निर्णय भयो ।’

बार र बेञ्चवीच सहमति भएपछि बहिस्कार स्थगन गरी इजलाश सुचारु हुने निर्णय भएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले बताए । दुईपक्षवीचको छलफलमा माननीय न्यायधिश अधिकारीले कार्यशैलीमा सुधार ल्याउने प्रतिबद्धता जनाएको र बारले त्यस्लाई आत्मसाथ गरी बहिस्कार स्थगन गरेको श्रेस्तेदार भट्टराईले बताए ।
बारको आन्दोलन स्थगनसँगै इजलाश सुरु हुने र सेवग्राहीलाई सेवा प्रवाहमा सहज हुने भएको छ ।



