जनकपुरधाम । धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन् ।

घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ ।
विवाहको बेला माइती पक्षले २ लाख भारतीय रुपैयाँ दिएको थियो । तर अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई यातना दिँदै आएको श्वेताको भनाइ छ । विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले पीडित परिवारबाट उजुरी नपरेको र औपचारिक जानकारी नआएको बताए । यद्यपि विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुसन्धान गरिरहेको उनले बताए ।



