घटना छानबिन गर्न सात सदस्यीय समितिलाई तीन दिनको समय

सिरहा । सिरहा नगरपालिकाको जिन्सी शाखामा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

जिन्सी शाखामा आईतवार राती करिब आठ बजे आगलागी भएको थियो । आगलागीमा जिन्सी शाखामा रहेको विभिन्न आर्थिक वर्षको महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ । त्यस घटनालाई गम्भीर रुपमा लिदै सिरहा नगरपालिकाको कार्यापालिका बैठकले छानबिन गर्न सात सदस्यी समिति गठन गरी तीन दिनको समयसीमा दिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार यादवको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको सिरहा नगरपालिकाले जनाएको छ । समितिमा सिरहा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष शिव शंकर झा, वडा नम्बर २ का वडाअध्यक्ष राकेश कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप कुमार मण्डल, कार्यपालिका सदस्य रविन्द्र साह, अनिल कुमार कर्ण र प्राविधिकतर्फबाट सव इन्जिनियर प्रविन कुमार यादव रहेका छन् ।

जिन्सी शाखामा भएको आगलागी सम्बन्धी घटनाको छानबिन गर्न गठित समितिलाई सम्बन्धित फाँटका प्रमुखदेखि अधिकृत बलिराम यादव लगायतसँग सोधपुछ गर्ने अधिकार प्रत्यायोजन गरिएको सिरहा नगरपालिकाले जनाएको छ । समितिले छानविन प्रतिवेदन तीन दिनभित्र सार्वजनिक गर्नुपर्ने जनाईएको छ ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले जिन्सी शाखाका विवरण बुझाउन कर्मचारीलाई निर्देशन दिएको अवस्थामा आगलागी भएकोले छानविन गर्न समिति गठन गरिएको बताएका छन् । ‘यो गम्भीर विषय छ,’ मेयर यादवले भने, ‘कागजात बुझाउनु पर्ने, बरबुझारथ गर्नुपर्ने अवस्थामा महत्वपूर्ण कागजात भएको शाखामा आगलागी हुन्छ । यो छानविन गर्नु जरुरी देखियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय