
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न घटनामा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।
सिरहाका प्रहरीका प्रमुख समेत रहेका एसपी टेकुनन्द ईवा लिम्बुले सिरहा जिल्लामा घटाईएको विभिन्न अपराधिक घटनामा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिने काम जारी रहेको र हत्या र रकम लुट्ने घटनामा पक्राउ गरिएको चार जनालाई सार्वजनिक गरिएको जनाएका छन् ।
२०७८ मंसिर ८ मा गोलबजार नगरपालिका–३ जमनटोकीमा कुटपिट गरी हत्या गरिएको सुखिपुर नगरपालिका–८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्यामा संलग्न रहेको उनको दाजु ४२ वर्षीय रामचन्द्र गोसाईलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत विहिवार कंचनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको गोसाईलाई सात दिनको म्याद थप गरी अनुसंधान जारी राखिएको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् ।
घरायसी विवादले गर्दा श्यामसुन्दरलाई कुटपिट गरिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनि ट्रान्सफरको लुटिएको ९ लाख रुपैयाँको घटनामा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । गत फागनु १० मा रकम लुटिएको त्यस घटनामा पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार लहान नगरपालिका–१३ सुकरामपुरका ३६ वर्षीय जिवछ विक, लहान नगरपालिका–१९ छपरारीका ४७ वर्षीय सत्य नारायण मण्डल र कल्याणपुर नगरपालिका–८ अरंगका ४५ वर्षीय श्याम कुमार यादव रहेको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् । ज ६प ८१८५ नम्बरको मोटरसाईकलमा मिर्चैयाको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिई कल्याणपुर स्थित मनी ट्रान्सफर जाँदै गर्दा बतहा पुलबाट उनीहरुले लुटपाट गरेका थिए । गत विहिवार नै पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदालत सिरहाबात सात दिनको म्याद थप गरि आवश्यक अनुसंधान अगाडी बढाईएको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् ।

मुख्य योजनाकार रहेका विकको अपराधिक पृष्ठभूमी रहेको जनाएको छ । हत्या, चोरी, लुटपाट लगायका घटनामा विक यस अघि पनि पक्राउ परेको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् । हत्या र रुपैयाँ लुटपाट गर्नेलाई पक्राउ गर्ने मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि सहयोग प्राप्त भएको भन्दै एसपी लिम्बुले सिरहा जिल्लामा शान्ति सुरक्षा कायम राख्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।
यस्तै सिरहा प्रहरीले चालू आर्थिक वर्ष २०७९/०८० मा विभिन्न घटनामा संलग्न भई अदालबाट दोषी ठहर भएर फरार रहेका र अभियुक्त रहेका ९१ जनालाई पक्राउ गरिएको जनाएको छ । यस्तै चालू आर्थिक वर्षमा प्रहरीले हराएको २ सय मोबाईलमध्ये २८ वटा बरामद गरेको जनाएको छ । ‘२८ वटा मोबाईल रिकभर गरिएको छ,’ एसपी लिम्बुले भने,‘२ सय जति मोबाईल हराएको उजुरी छ । चोरी बाहेक हराएको मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुुझाउदै आएका छौं ।’
पत्रकार सम्मेलनमा सिरहाका पत्रकारहरुले चोरी तस्करी नियन्त्रण गर्न, लागूऔषधको दुर्रव्यसन रोक्न लगायतका विषयमा जिज्ञासा समेत राखेका थिए ।