सर्लाही । नेपाल स्काउट मधेश प्रदेश स्काउट अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिकामा स्काउट आधारभूत तालिम सम्पन्न भएको छ । चैत्र १ गते एक समारोहबीच गत फागुन २६ गतेदेखि चलेको तालिमको समापन गरिएको हो । हरिपुर नगरका प्रमुख गोपाल पंजियारले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

आवासीयरुपमा ५ रात ६ दिन सञ्चालन हुने स्काउट आधारभूत तालिममा सहभागीहरुलाई स्काउट इकाई सञ्चालन गर्ने र इकाइमा बालबालिकाहरुलाई अभ्यास गराउने नियमित क्रियाकलापहरुको बारेमा जानकारी दिई प्रशिक्षित गरिन्छ । उक्त तालिममा हरिपुरका ३९ जना शिक्षक शिक्षिकाहरु स्काउट मास्टरको रुपमा दीक्षित भएका थिए । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पंजियारले हरिपुर नगरलाई स्काउटमय बनाउने बताएका थिए । उक्त तालिम पुरुषतर्फको ५२१औं तालिम र महिला तर्फको ३८०औं तालिम रहेको थियो । नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे पुरुषतर्फको कोर्ष लिडर रहेका थिए भने महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक रत्नेश्वरी चवाल कोर्ष लिडर रहेकी थिइन् ।

सोही कार्यक्रममा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई दीक्षा समेत प्रदान गरिएको थियो । स्काउटको ऐन, नियमावली अनुसार नगरपालिका वा गाउँपालिका प्रमुख स्थानीय स्काउटको संरक्षक रहने र अन्य पदाधिकारीहरु पनि विभिन्न आलंकारिक पदहरुमा रहने व्यवस्था रहेको छ । नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य विजेन्द्र लाल ध्वजुले नगरप्रमुख लगायतका पदाधिकारीहरुलाई दीक्षा दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख निलम देवि राय यादव, मधेस प्रदेश स्काउट संयोजक दिनेश कुमार यादव, सहायक निर्देशक रवि राज पौडेल, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, मधेस प्रदेश समिति सदस्य गंगाप्रसाद मैनाली, मधेस प्रदेश समिति सदस्य तथा सदस्यता बृद्धि संयोजक नारायण बहादुर कार्की, शिक्षा अधिकृत नागेश्वर राय, मधेश प्रदेश अधिकृत कृष्ण प्याकुरेल, प्रदेश सहायक रोशन कुमार यादव लगायत स्काउटर एवं स्काउटहरुको उपस्थिति रहेको थियो ।

बेलायती सैन्य जनरल बेडेन पावेलले सन् १९०७ मा स्थापना गरेको स्काउट अभियान नेपालमा वि.सं. २००९ सालमा तत्कालीन राजा त्रिभुवनको संरक्षकत्वमा सञ्चालनमा आएको थियो । स्काउटले विद्यालय तथा समुदायमा युवा एवं बालबालिकाहरुका निमित्त उनीहरुको सर्वांगीण विकासका लागि अनौपचारिक शिक्षाका माध्यमबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दछ । नेपाल स्काउटले सदस्यता वृद्धिका लागि १० वर्षे रणनीति तयार गरी देशको संघीय संरचना अनुरुप केन्द्र, प्रदेश एवं स्थानीय तहका समितिहरु मार्फत स्काउटको विकास तथा प्रवर्द्धनका लागि देशैभरी अभियान सञ्चालन गरेको छ । मधेस प्रदेशमा दिनेश कुमार यादवको नेतृत्वमा रहेको समिति छ भने प्रदेशका सबै स्थानीय तहमा समितिहरु गठन भएका छन् । नेपाल स्काउटले सन् २०३२ सम्ममा देशभर नेपाल स्काउटको सदस्यता ७ लाख पुर्याउने लक्ष्य लिएको नेपाल स्काउटका सहायक निर्देशक रविराज पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!