उपप्रधानमन्त्री श्रेष्ठको घोषणा भाषणमै सिमित हुँदा यात्रुलाई सास्ती

सिरहा । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ आजभन्दा १४ दिन अगाडी अर्थात फाल्गुन १५ मा सिरहाको कमला नदीमा पुगेका थिए । मधेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जोड्ने गरी कमला नदीमा बन्दै गरेको पुल अलपत्र अवस्थामा परेपछि त्यसको निरिक्षण गर्न मन्त्री श्रेष्ठ दलबल सहित पुगेका थिए । भौतिक पूर्वाधारको विभागीय मन्त्री भएकोले पनि उनले कमला नदीमा विगत ११ वर्षदेखि निर्माणधीन र गत २० महिनादेखि भाँसिर अलपत्र बनेको पुलको निरिक्षण गर्न दलबल सहित पुगेका थिए ।

मन्त्री श्रेष्ठ आउने भएकोले स्थानीय माओवादी नेताहरुले मन्त्रीको लागि टेण्ट पण्डाल खुर्सी, माईक लगायतका बन्दोबस्ती गरेका थिए । सिरहा र धनुषाको नागरिकको चासो भनेको ११ वर्षदेखि बन्दै गरेको पुल बन्नु नै थियो भने माओवादी नेता कार्यकर्तालाई मन्त्रीलाई स्वागतमै जोड थियो । मन्त्री श्रेष्ठले कमला नदीको निर्माणधीन भाँसिएको पुलको निरीक्षण गएर काठमाडौं फर्किएको आज दुई साता पनि पुगेको छ । तर मन्त्री श्रेष्ठले आफैंले गरेको घोषणालाई कार्यान्वयन गराउन सकेको छैन् ।
सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले दुई वटा महत्वपूर्ण कुरा भनेका थिए । ‘डिजाईन एण्ड बिल्टको सिस्टम अनुसार पुल बनेको हुनाले दीर्घकालीन ढंगले बन्नु पर्छ र तत्काल काम सुरु हुनुपर्छ,’ मन्त्री श्रेष्ठले भने,‘तत्काल वर्षायामसम्म गाडी चल्ने गरी ह्यूमपाईप राखेर गाडी चलाउने गरी समस्या समाधान गर्न निर्देशन दिएको छु । एक/दुई दिनमा ह्यूमपाईप राखेर गाडी जाने गरी बाटो बन्छ । यदि निर्माण व्यवसायीले नबनाएमा मन्त्रालयबाटै छिट्टै बनाउँछ ।’

पुलको काम छिट्टै बन्ने कहिले हो ठेगान छैन् । पुल निर्माण गर्न माटो परीक्षण भईरहेको छ । यस अघि पनि दुई पटक माटो परीक्षण गरिएको थियो । ती प्रतिवेदन कहाँ लुकेको छ, भन्ने कुरा मन्त्रीजीले बताउन सक्नु भएन । अर्को कुरा भने ह्यूमपाई राखेर तत्काल अस्थायी रुपमा सवारी चल्ने गरी डाईभर्सन बन्ने कुरा अन्यौलमा परेको छ । एक/दुई दिन भन्दाभन्दै दुई साता पुगेको छ । कमला नदीमा सात थान ह्यूमपाईप चाहि पुगेको मात्र छ । त्यसका अलावा अस्थायी डाईभर्सन बन्ने कुरा कहिले हो कहिले टुंगो छैन् ।

स्थानीय अगुवा रामचन्द्र यादवले भने, ‘मन्त्रीजीले भाषण ठोकेर गए । अस्थायी रुपमा बाटो संचालनमा आउने गरी डाईभर्सन पनि बनाउन सकेको छैन्,‘यादवले भने,‘एक दुई दिन भन्दाभन्दै दुई साता पुग्यो ।’
‘स्थायी रुपमा डाईभर्सन बन्दा दुवै जिल्लाका स्थानीयलाई आउजाउ गर्न सहज हुन्थ्यो,’ धनुषा घर भएका सिरहा क्याम्पसका शिक्षक अशोक यादवले भने, ‘मन्त्रीजीले गरेको घोषणा तत्काल पूरा गराउने गरी निगरानी राख्नुपथ्र्यो । आयो, हेर्यो र गर्यो भन्ने कुरा हुनु हुँदैन् ।’
अहिले कमला नदीमा बाँसको अस्थायी पुल स्थानीयले बनाएको छ । त्यसबाट ओहोरदोहोर गर्नेसँग शुल्क लिदै आएको छ । ‘अस्थायी पुल बनाएको भए दुईदेखि चारपाङ्े सवारीसाधन पनि सहजै चलाउन मिल्नेथ्यो,’ सिरहाका नागरिक अगुवा शम्भू साहले भने,‘नेताजीहरुले भाषणको सट्टा काम गरेर देखाउनु पर्छ । भाषण र निगरानी नहुँदा पुल ११ वर्षदेखि अलपत्र छ ।’

तामझाम र लाखौं रुपैयाँ खर्चिएर मन्त्री श्रेष्ठ जनकपुरधाम हुँदै पूर्वपश्चिम राजमार्ग भएर सिरहा आएका थिए । ठाउँठाउँमा विभिन्न कार्यक्रममा सहभागी भईरहँदा मुख्य विषय कमला पुल ओझेलमा परेको छ । प्राथमिकतामा रह्नु पर्ने पुल भाषणमा सिमित बन्दा ‘जुन जोगी आए…’ भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय