
सिरहा । मधेशको लाइफ लाइनको रुपमा रहेको हुलाकी सडकखण्ड अन्तर्गत पर्ने सिरहा र धनुषा जोड्ने भासिँएको कमला नदीको पूल पुनः निर्माणको लागि प्राविधिक टोली कमला नदी पुगेका छन् ।
गत फागुन १५ गते नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ कमला नदीमा बनेको पूल नीरिक्षण गर्दै पूल पुनः निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिवद्धता जनाए बमोजिम प्राविधिक टोलीले माटो परीक्षणको लागि कमला नदी पुगेका हुन् ।
निर्माण सम्पन्न भई उद्घाटन तयारी गरिएपनि उद्घाटन नहुँदै नदीमा आएको बाढीले १७ असार २०७८ मा कमला नदीको पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुलको पाया भासिँएपछि दैनिक हजारौं सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई भईरहेको छ ।
अस्थायी काठको पूल निर्माण गरी स्थानीयहरुले सो बाटो सुचारु राखेपनि पूल पार गर्न दैनिक २० रुपैया तिर्नुपर्ने बाध्यता छ । भासिँएको पुलको निरीक्षण गर्दै छिट्टै बनाईदिन मन्त्री श्रेष्ठले निर्देशन दिएपनि अहिलेसम्म अस्थायी पुल बन्न सकेको छैन् ।

अस्थायी पुल निर्माणको लागि भने ह्यूमपाईप नदीमा खसालिएको स्थानीयले जनाएका छन् । उनले निर्देशन दिएको ११ दिन बित्न लागिसकेको छ ।
नदीमा काठको अस्थायी पुलबाट मानिस र दुई पाँग्रे सवारीसाधन मात्रै आवतजावत गरिरहेका छन् । ठेकेदार कम्पनीले ह्यूमपाईप राखेर अस्थायी पुल राखिदिए चारचक्के सवारी साधनहरुलाई पनि आवतजावत गर्न सहज हुनेछ ।
विहिबार मन्त्रालयले खटाएको प्राविधिक टोली कमला नदीको माटो परीक्षण सुरु गरेको हो । मन्त्री श्रेष्ठ कमलाको पूल निर्माणको लागि दुई साता समय भनेका थिए । उनले दुई साताभित्रै निर्माण प्रक्रिया सुरु गरिने बताएपछि प्राविधिक टोली समयमै आईपुगेका हुन् ।
करिब दुई बर्षदेखि भासिँएको पुल पुनः निर्माण नहुँदा सरोकारवाला निकायहरुलाई सिरहाका रामरिझन यादव र पत्रकार देवकुमार यादवले दबाब दिरहेको थियो ।