
सफाई कर्मचारी र प्रहरी बीच हात हालाहाल, सफाईकर्मचारी र प्रहरी घाईते
सिरहा । सिरहा नगरपालिकाले चार महिनादेखी तलवभत्ता नदिएको भन्दै सिरहा नगरपालिकाको सरसफाई कार्यमा खटिदै आएका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
४ महिनादेखि तलब नपाएका सफाई कर्मचारीहरु होली पर्वको एक दिन अघिसम्म तलब नपाएपछि सडकमा विरोध प्रदर्शनमा ओर्लिएका थिए । तलब माग्दै सडकमा ओर्लिएका कर्मचारीहरुले सडकवाट संकलन गरिएका फोहर उनीहरुले पुनः सडकमै छरिदिएका थिए ।
फोहोर उठाउने र नगरलाई सफा तथा चिटिक्क पार्ने कर्मचारीहरुले तलब नपाएको विरोधस्वरुप सडकमा फोहोर छर्न थालेपछि नगरपालिकाले दमकलसहित केही कर्मचारी पठाएर सडकमा पानीको फोहरा हालेर सफा गर्न थाल्यो । दमकलले पानी छर्ने कार्यलाई सफाई कर्मचारीहरुले रोक्न खोजेका थिए । त्यही क्रममा प्रहरीसँग सफाई कर्मचारीको विवाद भएको थियो ।

सफाई श्रमिकहरुले दमकललाई पानीको फोहोरा हाल्न अवरोध गरेपछि वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीवीच हात हालाहाल भएको थियो । प्रहरीसँग सफाई श्रमिकहरुको भनाभन सुरुभयो । दुईतर्फी उत्तेजना बढदै गएपछि प्रहरी र आन्दोलनकारी बीच हात हालाहाल भयो । आफूहरुलाई दलित सोचेर प्रहरीले बल प्रयोग गरेका आन्दोलनमा रहेका सफाई कर्मचारीहरुको भनाई छ । आफ्नो हकहितको लागि आबाज उठाउँदा प्रहरीले दलित सम्झेर बल प्रयोग गर्दै लाठी, बुट र बन्दुकको नालले हिर्काएको उनीहरुको भनार्इँ छ । प्रहरीको कुटपिटबाट सफाई कर्मचारी राजा मेस्तरको हातमा गम्भीर चोट लागेको छ भने एक जना प्रहरी पनि समान्य घाईते भएका छन् ।
आन्दोलनरत सफाईकर्मीहरुले प्रहरी दमन भएको आरोप लगाए पनि प्रहरी उपरीक्षक टेकु नन्द ईवा लिम्बुले बल प्रयोग नभएको तथा सफाई कर्मचारीहरुले नै प्रहरीसँग ठेलमठेल गरेको दावी गरेका छन् ।
प्रहरीले संयमता अपनाउँदै उनीहरुलाई सम्झाई बुझाई गरेको एसपी लिम्बुको दावी छ ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवसँग सोध्दा तलब जम्मा हुने क्रममा रहेको बताएका छन् । ‘को–को कर्मचारीसँग कति समयको लागि करार भएको छ त्यसबारे छानविन हुँदैछ,’ प्रमुख प्रशासकीय अधिकृत यादवले भने,‘यथाशीघ्र तलब निकासा हुन्छ । कसैले परिस्थितिलाई अनावश्यक उत्तेजक बनाउन भूमिका खेलेको छ ।’