
सिरहा । नेपाल प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सिरहामा अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा मनी ट्रान्सफरका सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका– १ मा रामजानकी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका पवन कुमार यादव बिहीबार पक्राउ परेका हुन् । उनी सिरहा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत छैटौँ तहमा स्वास्थ्यर्मीसमेत हुन् । काठमाडौंबाट खटिएको सिआइबीको टोलीले स्वास्थ्यकर्मी यादवलाई नियन्त्रणमा लिई छानबिन अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।
सिआइबीले लामो समयदेखि निगरानीमा राख्दै आएको र पर्याप्त प्रमाणको आधारमा मनी ट्रान्सफरमा छापा मारेर यादवलाई पक्राउ गरिएको निमित्त प्रवक्ता साहले बताए । प्रहरी स्रोतका अनुसार यादवले लामो समयदेखि सिरहामा हुन्डी कारोबारसमेत गर्दै आएका थिए । पक्राउ परेका यादवलाई थप छानबिन गर्न सिआइबीले काठमाडौं लगिसकेको छ ।

सिआइबीले नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले समेत यिनीहरूको कारोबारलाई अवैध मानेको छ ।