कमला नदीझुलुंगे पुल

सिरहा । सिरहा र धनुषाको दक्षिणी क्षेत्रका वासिन्दालाई जोड्ने गरी कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण थालिएको छ ।
सिरहा नगरपालिका–१३ मल्हनीयादेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५ सय १ मीटर (१५००.४४मीटर) लम्बाईको झुलुंगे पुल निर्माणमा कमसल निर्माण सामग्री प्रयोग थालिएको छ । सपना/उमा एण्ड कं./थानी जे.भी बतीसपुतलीले भ्याट बाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता गरी निर्माण कार्य सुरु गरेको ६ महिनामै कमसल सामग्री प्रयोग गरी निर्माण गरिरहेको खुलासा भएको छ ।
सस्पेन्सन बृज डिभिजन ललितपुरसँग २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले पायल निर्माण मापदण्ड विपरीत कम गुणस्तरको माटो मिश्रित बालुवा र पत्थर मिसाएर ढलान काम अगाडी बढाएको छ ।

२१ मीटर पायल गर्ने काम भईरहँदा त्यसको गुणस्तरमा व्यापक लापरबाही भईरहेको छ । सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका इन्जिनियर लगायतको प्राविधिक टोलीको मिलोमतोमै निर्माण कम्पनीले गुणस्तरहीन सामग्री मिलाएर निर्माण गरिरहेको छ ।
करिब १ हजार ५ सय १ मीटर लम्बाईको झुलुंगे पुलको चोडाई ४ फिटको रह्ने गरी ६ वटा टावर र ४ वटा एंकर ब्लक सहितको १ सय ३४ पायल जमिनमुनी निर्माण गरिरहँदा त्यसमा व्यापक रुपमा कमसल सामग्री प्रयोग भईरहेको छ । निर्माण कम्पनीसँग सस्पेन्सन बृज डिभिजनको प्राविधिक टोलीको मिलोमतोका कारणले कमसल निर्माण भईरहेको छ ।

१९ महिना अघि सिरहाको सिरहा–धनुषा जोड्ने कमला नदीमा बन्दै गरेको पुल कमसल निर्माणकै कारण भाँसिएपछि आवतजावत सहज रुपमा संचालन हुन सकेको छैन् । कमला पुलमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डसको लापरबाहीका कारणले अहिले सिरहा र धनुुषाका स्थानीयले सास्ती भोग्नु परेको छ । सिरहा र धनुुषा जिल्ला जोड्न कमला पुलमा बैकल्पिक बाटोका रुपमा झुुलुुङे पुल हुने अपेक्षा गरिएपनि निर्माण कम्पनीले मुख्य निर्माणमै घोटाला गर्न थालिएको छ । जसले अगामी दिनमा झुुलुुङे पुलको भविष्य पनि भाँसिएको कमला पुल जस्तो हुने प्रबल सम्भावना रहेको छ ।
सरकारी कर्मचारीहरु निर्माण कम्पनीसँग आर्थिक लाभको अपेक्षामा निगरानीमा जोड दिन नसक्दा पुल जस्तो संरचनामा निर्माण कम्पनीले लापरबाही गरिरहेको स्थानीय नागरिक अगुवाहरुको भनाई छ । सिरहा र धनुुषा जोड्न कमला नदीमा निर्माणधीन रहेको झुुलुुङे पुलमा भईरहेको कमसल सामग्रीको प्रयोग रोक्न दबाब दिन आवश्यक रहेको स्थानीयको भनाई छ ।

यता निर्माण कम्पनीका इन्जिनियर जगदिश लामिछानेले गुणस्तरहीन सामग्री प्रयोग भएको स्वीकार गरेका छन् । ‘भूलवस त्यसो भएको हो,’इन्जिनियर लामिछानेले भने,‘अबदेखि त्यस्तो हुँदैन् ।’
साईटमा खटिएका प्राविधिकहरु यताउता भएको बेला कामदारबाट माटो मिश्रित बालुवा र गिट्टी मिसाएर निर्माणधीन पायरमा राखिएको स्वीकार गर्दै उनले अबदेखि त्यस्तो नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय