
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माग गर्दै सिरहामा प्रर्दशन भएको छ । हुलाकी सडक संघर्ष समितिले भासिएको पुल बनाउन दबाब स्वरुप प्रर्दशन गरेको हो ।
भासिएको पुल निर्माण रोकिँदा प्रदेश राजधानी जनकपुरधाम जान यस क्षेत्रका नागरिकलाई तीन गुणा लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको संघर्ष समितिका संयोजक रामरीझन यादवले बताए । रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तरक्रियालगायतका दबाबमूलक कार्यक्रम गर्दै आएपनि सरकारले पुल पुनःनिर्माणमा कुनै ध्यान नदिएको संयोजक यादवको भनाई छ ।
कमला नदीमा ११ वर्षअघि २०६८ सालदेखि पुल निर्माण सुरु भएको थियो । पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शन र लुम्बिनी बिल्र्डसले संयुक्त रुपमा लिएका थिए । तीन वर्षमा सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि पप्पु कन्स्ट्रक्शनले निर्माण सम्पन्न नगर्दा हुलाकी सडक निर्देशनालयले जेभिका अर्का साझेदार लुम्बिनी बिल्र्डसलाई जिम्मेवारी दिएको छ ।

लुम्बिनी बल्र्डसले ९५ प्रतिशत काम सम्पन्न गरी पुल उद्घाटनको तयारी गरिरहँदा १९ महिनाअघि २०७८ असार १७ मा बाढीले पाया भासिएको थियो । त्यसको चार महिनापछि अर्को पाया पनि भासियो । जसले गर्दा सिरहा र धनुषा जोड्ने पुल अहिले अलपत्र परेको छ ।