
सिरहा । प्रहरीले अवैध असुली थालेपछि सिरहा भन्सार कार्यालय माडरको राजश्व असुली निरन्तर खस्किदै गएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ७ हेक्वा. कार्यालय र सिरहा भन्सार कार्यालय माडर खैरटोका कर्मचारीको सेटिङले गर्दा भन्सर राजश्व असुली नै खस्किदै गएको छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीले मोटो रकम असुली जारी राखेपछि राजश्व असुली खस्किएको हो । भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करहरुसँग दैनिक, साप्ताहिक तथा महिनाबारी रुपमा रकम लिएर तस्करी गराउदै आएको छ । जसले गर्दा चालू आर्थिक वर्षमा पनि सिरहा भन्सारमा राजश्व असुलीमा व्यापक गिराबट भएको हो । दैनिक रुपमा ठूलो परिमाणमा लत्ताकपडा, चामल, सुर्तिजन्य पदार्थ (राजनिगन्धा, राजनिवास), खानेतेल, मैदा, स्पेयर पार्टस, इलेक्ट्रोनिक्स समानहरु तस्करी हुँदै भारतबाट नेपाल भित्रिने गरेको छ । त्यस्तै नेपालबाट स्याउ, मदिरा, मटर जस्ता सामग्री भारत तस्करी हुँदै आएको छ ।
सिरहा भन्सार कार्यालय माडर खैरटोकाले चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत अर्थात ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको छ । त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २० प्रतिशत अर्थात ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत अर्थात ४४ लाख ५३ हजार, कात्र्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत अर्थात ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत अर्थात ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत अर्थात एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली गरेको छ ।

सिरहा भन्सार कार्यालयको चालू आर्थिक वर्षको लक्ष्य घटाएर वार्षिक लक्ष्य १९ करोड ९५ लाख ४६ लाख कायम गरिएको छ । वार्षिक लक्ष्यमध्ये १५ प्रतिशत अर्थात ३ करोड एक लाख ६ हजार रुपैयाँ मात्र राजश्व असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले बताएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुषसम्मको ६ महिनाको तथ्यांकले नै सिरहामा तस्करी ठूलो मात्रामा भई रहेको पनि देखाएको छ । सिरहा जिल्लाका साना देखि ठूला पसलहरुमा भन्सार छलीका समानहरु व्यापक रुपमा पाईने गरेको छ । जिल्लाका ठूला बजारहरु लहान, सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया लगायत ग्रामीण क्षेत्रका बजारमा समेत तस्करीका समान पुग्ने गरेको छ । मासिक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूहरुसँग लाखौं रुपैयाँ असुली गर्दै आएको तस्करी गर्दै आएका एक तस्करीले नाम उल्लेख नगर्ने शर्तमा अपन दैनिकलाई बताएका छन् ।
आफ्नो कारोबार चौपट हुने र लाईन नदिने भएकोले नाम उल्लेख नगर्न भन्दै उनले लाईन क्लियर गर्न प्रहरीले स्कर्टिङ (बाटो क्लियर) गरिदिने गरेको बताए । त्यससँगै चामल, दाल, खाने तेलको दैनिक रुपमा ठूलो मात्रामा तस्करी हुँदै आएको छ । साईकल, तीन पाङ्े सवारी सधानमा पनि तस्करी भईरहेको छ । प्रहरी तस्करीका समान बोक्नेसँग ठाउँठाउँमा २० देखि २ सय रुपैयाँसम्म पनि असुल्दै आएका छन् । लामो समयदेखि तस्करी भईरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा सरोकारवाला गृहमन्त्रालय, भन्सार विभाग, अर्थ मन्त्रालय लगायतका निकायले वास्ता गरेको छैन् ।