जनकपुर । जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत भएका छन् । मधेस प्रदेशका  पूर्वसभामुखसमेत रहेका यादव संसदीय दलको नेता चयन भएपछि पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने भएका छन् ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादवले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिस्थापन गर्नेछन्। सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार मधेसमा जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन् । करिब एक सातादेखि जसपाको संसदीय दलको नेता छान्न प्रक्रिया थालिएको थियो । सोमबार साँझ संसदीय दलको नेता छान्न चुनाव नै गराउने तयारी भए पनि यादवलाई अचानक सर्वसम्मत चयन गरिएको छ ।

जसपाका नेता एवं मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले सर्वसम्मतबाट संसदीय दलको नेतामा यादवलाई चयन गरिएको बताए । उनले दलको नेता छानिएपछि सरकार गठनबारे गठबन्धनका दलसित छलफल हुने बताए । जसपाको संसदीय दलका नेताका लागि हालका मुख्यमन्त्री लालबाबु राउत, रामाशिष यादव र सरोज यादव प्रतिस्पर्धामा थिए । रामाशिषले सोमबार बिहान सरोजलाई समर्थन गरेपछि मुख्यमन्त्री राउत पनि पछाडि हटे ।

मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय