काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बँुदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

रेशम चौधरीसँगै टीकापुर घटनाका राजबन्दीको रिहाइका लागि पहल गर्ने, देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्न सरकारलाई दबाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न दुबै दल सहमत भएका छन् ।

आन्दोलनका क्रममा दुबै दलका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता, राउतसँग २४ फागुन २०७५ मा भएको सम्झौता कार्यान्वयन, नागरिकता विधेयक पास र किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्न पनि दबाव दिने दुई दलको सहमति छ ।

दुबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि आफूहरु सहमत भएका ११ बुँदा सम्बोधन हुनुपर्ने बताएका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले भनिन्, ‘हाम्रा माग मुद्दा सम्बोधन नगरे प्रदेश र संघ सरकारमा सहभागी हुँदैनौं ।’

दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरेको सहमतिमा संघ र प्रदेश सरकारमा सहभागी हुँदा साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र जाने उल्लेख छ ।

मुख्यमन्त्रीमा दाबी

मोर्चाबन्दीले दुबै पार्टीको मुख्यमन्त्री दाबीमा बल पुगेको छ । जनमत पार्टीले मधेश र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।
दुबै पार्टी आ–आफ्नो प्रदेशमा सरकार निर्माणका लागि निर्णायक छन् । १०७ सदस्यीय प्रदेशसभामा जनमतका १३ प्रदेशसभा सदस्य छन् । एमाले (२३), जनता समाजवादी पार्टी (१६), माओवादी केन्द्र (८) मिल्दा पनि सरकार गठनका लागि चाहिने ५४ पुग्दैन । जनमतसँग १३ र नागरिक उन्मुक्ति पार्टीसँग एक प्रदेशसभा सदस्य छन् ।
अर्थात जनमतले समर्थन नगरी सरकार बन्दैन । सत्तारुढ एमाले र माओवादी आलोपालो गर्ने गरी जनमत र जनता समाजवादी पार्टीलाई मुख्यमन्त्री दिन सहमत छन् । तर पहिलो पालोमा कसले मुख्यमन्त्री लिने भन्ने टुंगिएको छैन ।
सुदूरपश्चिम प्रदेशमा भने नागरिक उन्मुक्ति निर्णायक छ । ५३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।
७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्तिले समर्थन नगरी सरकार बन्ने अवस्था छैन । एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख दिएर नागरिक उन्मुक्तिलाई मनाउन खोजेका छन् । तर नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ ।

हेर्नुहोस  नागरिक उन्मुक्ति र जनमत पार्टीको संयुक्त विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!