
सिरहा । नेपाली सेनाद्धारा सिरहा नगरपालिका वडा नं. ४, रमौलमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बहादुर श्री शेर गण चोहर्वाको २१८ औं वार्षिक उत्सवको अवसरमा गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा जम्मा ४ सय ५० जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । नेपाली सेनाका अनुसार स्वास्थ्य शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, दन्त स्वास्थ्य परामर्श तथा ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

साथै निःशुल्क स्वास्थ्य शिविरमा सिरहा नगरपालिका वडा नं. ३, ४ र ५ का ५० वर्ष माथिका ५० जना एकल महिलालाई न्यानो कम्बल वितरण गरिएको छ । भने १२ जना गरिब, विपन्नलाई खाद्यान्न समेत वितरण गरिएको सिरहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोहम्मद समशाद आलमले बताए ।
स्वास्थ्य शिविर बहादुर श्री शेर गण चोहर्वा ब्यारेकका प्रमुख सुमन थापा, प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सिरहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोहम्मद समशाद आलम, वडा नं. ५ का वडाध्यक्ष जागेश्वर यादव, सिरहा नगरपालिकाका स्वास्थय शाखा प्रमुख मो. इदरिश राईन लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको सिरहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोहम्मद समशाद आलमले बताएकाछन् ।