सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भासिएको डेढ वर्ष वढी भयो । ११ वर्षदेखि निर्माणधीन अवस्थाको कमला नदीको पुल भासिएपछि अहिले धेरैलाई अवैध असुली गर्ने अवसर मिलेको छ । सुख्खायामको यस समयमा कमला नदीको भाँसिएको पुल भएर ओहोरदोहोर गर्ने सर्वसाधारणसँग स्थानीय युवाहरु अवैध असुलीमा व्यस्त रहेको देखिएको छ ।
कमला नदीको भाँसिएको पुल भएर ओहोरदोहार गर्न सिरहा नगरपालिका–५ र ६ का स्थानीय युवाहरुले अस्थायी रुपमा बाँस र प्लाई राखेर पुल बनाएको छ । पुल बनाए वापत युवाहरुले त्यसबाट यात्रा गर्ने यात्रीसँग १ सय रुपैयाँ असुली गर्दै आएको छ । विगत चार महिनादेखि युवाहरुले हजारौं सर्वसाधारणसँग लाखौं रुपैया असुली गरिसकेको छ । विहानदेखि रातीसम्म युवाहरुको टोलीले भाँसिएको पुल भएर यात्रागर्नेसँग १ सय रुपैयाँ असुली गर्दा सिरहा प्रशासन मुकदर्शक बनेको छ ।
सिरहा नगरपालिका–६ बसपिट्टाका स्थानीय अनुसार युवाहरुले ५०/६० हजार खर्च गरेर बनाएको भाँसिएको पुलमा चढ्न अस्थायी रुपमा बास र प्लाईको पुल बनाएको छ । जसबाट ओहारदोहार गर्नेसँग १० लाख वढी असुली गरिसकेको छ । सिरहा नगरपालिका वा अन्य कुनै सरकारी निकायलाई असुली गरेको रकमबाट कर बुझाउनु नपर्ने भएकोले पनि युवाहरुको रजगज चल्दै छ ।

मोटरसाईकल यात्रीले रकम दिन आलटाल गरे युवाहरुले दुर्व्यवहार समेत गर्ने गरेका गुनासोहरु सार्वजनिक भएको छ । सिरहा नगरपालिका ५ र ६ सँग जोडिएकोले स्थानीय सरकारले पनि चासो राख्नुपर्ने र नागरिकलाई सहज रुपमा आउजाउ गर्ने गरी समन्वय र सहयोग गर्नुपर्ने भएपनि यस्ता अवैध असुलीप्रति मौनता साँधेको छ । दैनिक सयौं मोटरसाईकल कमला नदीको भाँसिएको पुलबाट ओहोरदोहोर गर्दै आएको छ । पुलमा रकम असुल्न खटिएका एक युवाले दैनिक १० हजार वढी रकम संकलन हुने गरेको दावी गरेका छन् । समान्य दिनमा १० हजार वढी रकम असुली गरेपनि चाँडपर्वको बेला असुली रकम वढ्ने गरेको छ ।
सार्वजनिक पुलमै यसरी अवैध असुली भईरहँदा सिरहा प्रशासनले खासै वास्ता गरेको पाईदैन् । सिरहाका स्थानीय युवा अरुण कुमार गुर्मैताले कमला पुलमा युवाहरुको अवैध असुली रोकिनु पर्ने बताएका छन् । सुरुमा बाँस र प्लाईबाट पुल बनाउन लागेको खर्च र मजदुर खर्च लगायतको रकम असुली गरेपनि युवाहरुले अहिलेपनि असुली धन्दा जारी राखेकोले त्यसलाई रोक्न स्थानीय प्रशासनले जोड दिनुपर्ने बताएका छन् ।
दैनिक रुपमा जाने आउने यात्रुलाई पनि युवाहरुले बाध्य पारेर अवैध असुली गर्ने गरेको सिरहा सदरमुकाममा रहेको एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारीको गुनासो छ । ‘यो एक प्रकारको चरम लुट हो,’ उनले भने,‘यस्तो अवैध असुली रोक्न प्रशासनले हस्तक्षेप गर्नुपर्छ ।’




