सिरहा । सिरहा नगरक्षेत्र भित्र विभिन्न सरकारी कार्यालयहरुको भवन ‘विना नक्सा पास’ को निर्माण सम्पन्न भएको छ ।
कानूनको पालना गर्ने र गराउने सरकारी कार्यालयहरुको भवन नै सरकारी मापदण्ड अनुसार नक्सा पास नगराउँदा सर्वसाधारणलाई झन् सजिलो भएको छ । जिल्ला अदालत सिरहाले हालसालै बनाएको भवनदेखि जिल्ला प्रहरी प्रमुख (एसपी) क्वाटर लगायतका कैयन् सरकारी घरहरु नक्सा पास विना निर्माण पूरा भएको छ भने कपितय बन्दै गरेको छ ।

भवन नम्बर १ : एसपी क्वाटर
जिल्ला प्रहरी कार्यालयको प्रमुख अर्थात एसपी बस्ने गरी सिरहा–चोहर्वा सडकखण्ड छेउमै दुईतल्ले भवन निर्माण सम्पन्न भएको छ । भवनमा उद्घाटन गरि अहिले सिरहाका प्रहरी उपरीक्षक (एसपी) अर्जुन प्रसाद तिमिल्सिना बस्दै आएका छन् । यो भवन पनि नक्सा पास गरिएको छैन् । सिरहा नगरपालिकाको रेकर्ड अनुसार भवनको नक्सा पासमा गरिएको छैन् ।

भवन नम्बर २ : नेपाली सेनाको भवन
जिल्ला समन्वय समितिको गेट अगाडी रहेको ठूलो खाली जग्गामा नेपाली सेनाले जवान बस्ने गरी भवन निर्माण गरेको छ । भईतल्ले भवन निर्माण गरी उद्घाटनको पखाईमा रहेको छ । त्यस भवनको नक्सा पास गरिएको छैन् । सिरहा नगरपालिकाको रेकर्डमा भवनको नक्सा पास गरिएको कुनै कागजात पाईएको छैन् ।

भवन नम्बर ३ : सिरहा अस्पतालको सटर
प्रादेशिक अस्पताल सिरहाले आम्दानी बढाउन अस्पताल प्रवेशको दुई तिर भूइतल्लाको १५ वटा वढी पक्की भवन निर्माण गरेको छ । व्यापारिक प्रायोजनको निम्ति निर्माण गरिएको भवनको नक्सा पास गरिएको छैन् । सडक मापदण्ड पनि मिच्ने भएको उक्त भवनको विषयमा केही समय अगाडी विवाद बढेको थियो । प्रादेशिक अस्पताल सिरहाले व्यापारिक प्रयोजनको लागि भवन बनाउँदै गर्दा नक्सा पास गराउनु पर्ने कानूनी प्रावधान पनि मिचेको छ ।

भवन नम्बर ४ : भेटेनरी अस्पताल
पशु तथा भेटेनरी अस्पताल सिरहाको नयाँ भवन निर्माण कार्य अगाडी बढेको छ । निर्माण कार्यको सम्झौता लिएको महिनौंपछि भवन निर्माण सुरु भएको छ । भवन निर्माण सुस्त गतिमा सुरु भएपनि आवश्यक कानूनी प्रकृया पूरा गरिएको छैन् । सिरहा नगरपालिकाबाट भवन निर्माणको नक्सा पास गराईएको छैन् । विना नक्सा पास भवन निर्माण भईरहेको छ ।

भवन नम्बर ५ : जिसस सपिङ कम्पलेक्स
जिल्ला समन्वय समिति मातहत रहेको जिल्ला अदालत अगाडीको सपिङ कम्पलेक्स भवनको नक्सा पास भएको छैन् । सपिङ कम्लेक्स बनेको वर्षाै भईसक्दा पनि तात्कालिन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिले नक्सा पास गराउने कानूनी प्रकृया अगाडी बढाएको छैन् ।

भवन नम्बर ६ : जिल्ला अदालतको गार्ड क्वाटर
जिल्ला अदालत सिरहाले आफ्नो कार्यालयको अगाडी गार्ड बस्ने गरी दुई तल्ले भवन निर्माण गरेको छ । सो भवनमा अदालत सुरक्षा र न्यायधिसको सुरक्षामा खटिने गार्ड बस्दै आएका छन् । कानूनको पालना गराउनु पर्ने न्यायिक निकाय जिल्ला अदालतले पनि आफ्नो भवनलाई कानून सम्मतः नक्सा पास गराउन सकेको छैन् । जसले गर्दा कानूनतः सो भवन पनि अवैध ठहरिन्छ ।

सरकारी भवनहरु नक्सा पास भएको छैन् : इन्जिनियर यादव
सिरहा नगरपालिकाका इन्जिनियर प्रविण यादवले सरकारी भवन र व्यक्तिगत, व्यापारिक प्रायोजनका भवनको कानूनी वैद्यता पाउन पनि नक्सा पास गरिनुपर्ने बताएका छन् । उदाहरणमा उल्लेख गरिएको भवनहरुको नक्सा पास नभएको भन्दै इन्जिनियर यादवले पूराना भवनको सवालमा आवश्यक प्रकृया पूरा गरे अभिलेख राख्न मिल्ने र नयाँ भवनलाई कारबाही पश्चात निर्माण प्रकृया अगाडी बढाउन मिल्ने बताएका छन् । सरकारी निकायले आफ्नो भवनको नक्सा पास गरी कानूनी दायित्व पूरा गर्नुपर्ने भन्दै उनले सिरहा नगरपालिकाले आवश्यक प्रकृया थाल्ने बताए ।

नागरिक समाजका अगुवाहरुले निमायक निकाय, कानून पालना गर्नुपर्ने सरकारी अड्डा नै कानूनको अवहेलना गरेपछि आम नागरिकलाई बाटो खुला गरिदिने भएकोले तत्काल आवश्यक कानूनी प्रकृया थाल्नुपर्ने बताउँछन् । सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले सरकारी र व्यक्तिगत भवनको नक्सा पास आवश्यक भएकोले यसमा सवैले सक्रियता र चासोपूर्वक कानून पालना गर्नुपर्ने बताएका छन् । एकातिर कानूनको अवहेलना र अर्कोतिर सिरहा नगरपालिकाको राजश्व पनि गम्ने गरेको अध्यक्ष साहको भनाई छ ।
वस्ती विकास गुरुयोजना अनुसारको वस्ती, सहरी क्षेत्रमा भवनहरुको नियमन जरुरी रहेको यस क्षेत्रका जानकारहरुले सवैभन्दा पहिले सरकारी कार्यालयहरुले नै कानून पालना गरी अरुलाई कानून पालना गराउने बाटो बनाईदिनुपर्ने बताउँछन् । यस विषयमा सिरहा नगरपालिकाले पनि चासोका साथ कानून पालना गराउन र गुम्दै गरेको राजश्व संकलनलाई कडाई गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!