मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेकपा एमाले पर्साले दुई पालिकाका प्रमुखसहित १४ जनालाई कारबाही गरेको छ ।

अन्तर्घातका कारण पराजित हुनुपरेको भन्दै जिल्ला पार्टी सचिवालयले १४ जनालाई कारबाही गरेको हो । मधेश प्रदेशमा ठूलो दल बनेको एमालेले पर्सामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाको ८ मध्ये एउटामा पनि जित निकाल्न सकेन ।

चुनावी समीक्षाको लागि बसेको जिल्ला पार्टी सचिवालयले १४ जनालाई कारबाही गरी अनुमोदनको लागि प्रदेश कमिटीमा पाठाउने निर्णय भएको एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले जानकारी दिए । चुनावताका नै उनीहरूमाथि स्पष्टीकरण सोधिएको भए पनि चित्तबुझ्दो जवाफ नआएपछि सधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर अनुमोदनको लागि प्रदेश कमिटीमा पठाइएको थारुले बताए ।

एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, जिल्ला सचिवालय सदस्य तथा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवलाई पार्टीको सधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । त्यसैगरी वासुदेव महतो थारु, इमरान हुसेन, मन्जुर आलम, ताजदिन अन्सारी, पवन तिवारी, सुवास साह, विरेन्द्र साह, मौजिलाल साह, मुस्तकिम अन्सारी, रामप्रित महतो थारु, अमानत अन्सारी र नविजान मियाँलगायतलाई कारबाही गरिएको अध्यक्ष थारुले बताए ।

त्यस्तै पार्टीको निर्देशनविपरीत आफ्नै उम्मेदवारविरुद्ध षड्यन्त्र गरेको भन्दै केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बसरुद्धिन अन्सारीलाई कारबाही गर्न क्रमशः केन्द्रीय कार्यालय र प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला अध्यक्ष थारुले जानकारी दिए । अन्सारी र हजारालाई यसअघि स्पष्टीकरण सोधेको र जवाफ नदिएपछि जिल्ला सचिवालय समितिले कारबाहीको लागि सम्बन्धित निकायमा सिफरिस गरेको चौधरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय