धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ को फेउलीकी २० वर्षीया माया लुहारको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले आइतबार महेन्द्रनगरबाट पक्राउ परेका शिवनाथ गाउँपालिका–४ सोल्पलाका २२ वर्षीय भरतराम कोलीलाई सोमबार सार्वजनिक गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायाको चक्कु प्रहारबाट हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले अभियुक्तले मृतक माया आफूबाहेक अरुसँग पनि प्रेम सम्बन्धमा रहेको शंका गरेपछि उनीहरुबीच विवाद भएको र सोही कारण हत्या गरेको खुलेको बताए ।

हत्याको घटनाबारे अरुले थाहा पाउने आशंकामा मायासँगै रहेकी भतिजी नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई पनि चक्कु प्रहार गरेको कोलीले बयान दिएको डीएसपी शाहीले बताए । चक्कु प्रहारबाट लुहार घाइते छिन् ।

फेसबुकबाट चिनजान

भरतराम कोली र माया लुहारबीच फेसबुकबाट चिनजान भएको थियो र पहिलो भेट ११ मंसिरमा भएको थियो । फेसबुकबाट कुराकानी गर्दै जाँदा उनीसँग प्रेम भएको र आफू ७ मंसिरमा घरविदामा आएका बेला भेट भएको कोलीले बताएका छन् ।

११ मंसिरमा उनीहरुबीच पञ्चेश्वर गाउँपालिका–४ आमचोरामा भेटेका थिए । आफूसँग भेटेका बेला फोन आएपछि मायाले नउठाएर गोजीमा हालेपछि भरतले शंका गरेका थिए । को हो भनेर सोध्दा जवाफ नदिएपछि उनले मोवाइल खोसेर आफूसँगै राखेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

११ र १२ गते मायाको मोबाइल आफूसँग राखेका कोलीले १३ गते मायालाई मोवाइल लिन शिवनाथ गाउँपालिका–६ को ओल्याओख्डानी ठूलो खोला सामुदायिक वनमा बोलाएका थिए ।

उनीसँगै आएकी भतिजी नाता पर्ने नेहालाई अलग्गै राखेर एक्लाएक्लै भेटेपछि विवाद भएको र आफूले हत्या गरेको कोलीले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मायाको हत्यापछि कोलीले भतिजी नेहामाथि पनि चक्कु प्रहार गरेका थिए । नेहाले प्रतिकार गर्दा चक्कु भाँचिएको उनी भागेको कोलीले प्रहरीसमक्ष बताएका छन् । नेहाको हातमा चोट लागेको छ ।

घटनापछि राति घर गएर सुतेका कोलीले १४ मंसिरमा बसमा चढेर डडेल्धुरा गएको र तीन दिनसम्म बागबजारस्थित एउटा होटलमा बसेका थिए ।

१७ मंसिरको बिहान मात्र डडेल्धुराबाट अत्तरिया पुगेका उनी १८ गते बिहान महेन्द्रनगर बजार पुगेका थिए । भारत जाने योजनाअनुसार उनी महेन्द्रनगर पुगेका प्रहरीको भनाइ छ ।

मायाका दाजु टिकुराम लुहारले दिएको किटानी जाहेरी दिएपछि प्रहरीले कोलीलाई पक्राउ गरेर ज्यानसम्बन्धी कसूर शीर्षकमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!