सिरहा । सिरहाको गोलबजारका मेयर देवनाथ साहको घरमा शुक्रवार राती भएको ढुंगामुढा र सिरहा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएको मनोज कुमार सिंहको गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएको घटनाको छानविन गरी कानूनी कारवाही गर्न नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले माग गरेको छ ।
सिरहामा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले र जसपाले घटनाको छानबीन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । निर्वाचित प्रदेशसभा सदस्य सिंह गोलबजारको धमिनी मन्दिरमा दर्शन गरी सिरहा क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका सत्रुधन प्रसाद सिंहलाई भेट्न जाने क्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको घर नजिक केही उछृंखल व्यक्तिहरुले ढुंगा प्रहार गरी गाडिको सिसा फुटाएको र सोही क्रममा पूर्व मेयर साहको घरको झ्यालको सिासा फुट्न गएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्तीमा गोलबजार नगरपालिकाका पूर्वमेयर साहको घर अगाडि सिंहको गाडिमा ढुंगा प्रहार गरी सिसा फुटाएको कुरा बाहिर आएपछि केही व्यक्तिहरु आक्रोशित भएको र सोही क्रममा साहको घरमा समेत सिसा फुट्नुका साथै स्थानीय श्रीचन साहको टाउँको फुटेको भन्दै घटनाप्रति दुख व्यक्त गरेको छ । घटना दुःखद र खेदपूर्णभएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले माग गरेका छन् । आफ्नै पार्टीको कार्यकर्ताको घटनामा संलग्नता पाएको फेला परेमा कारबाही गर्र्नुपर्ने भन्दै अध्यक्ष मण्डलले कुनैपनि अवस्थामा दोषिलाई उम्किन दिन नमिल्ने बताए ।
‘घटना भएका क्षेत्रमा सवैतिर सीसीटिभी क्यामेरा छ,’ उनले भने,‘त्यहाँको फोटो झिकाएर छानविन गरोस । हाम्रै नेता कार्याकर्ता रहेपनि उनीहरुलाई कार्वाही हुनु पर्छ ।’