धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ ।

निषेध गरिएको अवधिमा धनुषा प्रहरीले १ ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना६ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका–३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–४ तुल्सियाहीबाट बीआर ०७ पीए ४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । गाडी चालक मुखियापट्टी मुसहर्निया–४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनुषा जिल्लामा गत हप्ता शनिवारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ ।



