सिरहा । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लिएर सिरहामा प्रचारप्रसार तिव्र भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवा र राजनीतिक दल अहिले चुनाव केन्द्रीत अभियान थालेका छन् ।
सिरहा क्षेत्र नम्बर ३ मा नेकपा एमाले–जसपा गठबन्धनबाट लीलानाथ श्रेष्ठ प्रतिनिधि सभाका उम्मेदवार बनेका छन् । उनले सिरहा नगरपालिका लक्षित चुनावी सभा, छलफलहरु गरिरहेको छ ।

प्रतिनिधि सभा उम्मेदवार श्रेष्ठले सिरहा नगरपालिका–५, ६ र १३ का आयोजित चुनावी सभामा सहभागी भएका थिए । उनले मतदातासँग आफूले विगतमा गरेको कामको आधारमा मत दिन अह्वान गरेका छन् । पूर्वकानून मन्त्री समेत रहेका श्रेष्ठले यस क्षेत्रमा पूर्वाधारमा निकै बजेट विनियोजन गर्न आफूले योगदान गरेको भन्दै मतदातालाई मत दिन आह्वान गरेका छन् । एमाले उम्मेदवार श्रेष्ठसँगै एमाले–जसपा गठबन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदारी दिएकी जसपाकी मधेश प्रदेश कोषाध्यक्ष रेनु यादवले आफूलाई निर्वाचित गर्न मतदान गर्न आह्वान गरेकी छिन् । चुनावी सभामा बोल्दै उनले यस क्षेत्रवारे आफू जानकार रहेको र निर्वाचित भएर सिरहा क्षेत्र नम्बर ३ ‘ख’ मा परिवर्तन ल्याउन अहोरात्र खटिरह्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यस्तै सक्तारुढ गठबन्धनबाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका पूर्वमन्त्री विश्वनाथ साहले पनि सिरहा नगरपालिका केन्द्रित चुनावी अभियानलाई जोड दिएका छन् । सिरहा नगरपालिकाको वडा नम्बर ९ र १० मा चुनावी अभियान अन्र्तगत भेटघाटमा व्यस्त थिए । प्रदेश सभा सदस्यमा पुनः दोहोरिन उम्मेदवारी दिएका मधेश प्रदेशका कानून न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद कुमार यादव पनि पूर्वमन्त्री साहसँग घरदैलो भेटघाटमा सहभागी थिए । उनीहरुले संविधानको हरन गर्ने दलका उम्मेदवारलाई जिताउन नहुने भन्दै मतदातासँग नागरिकता विहिन बनाउनेलाई हराउन अह्वान गर्दै मत मागेका छन् ।
यता जनमत पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका इन्जिनियर दिनेश यादवले पनि सिरहाको विभिन्न वडामा चुनावी अभियान अन्र्तगत मतदातासँग मत मागेका छन् । उम्मेदवार यादवले अर्नामा गाउँपालिका २, ३, सिरहा नगरपालिका ८,९, १४, १६ र २२ मा चुनावी सभा अन्र्तगत भेटघाट सम्पन्न गरेका छन् । पूरानो दलबाट परिवर्तन सम्भव नभएकोले युवा र सक्षमलाई जिताएर परिवर्तनतर्फ वढ्नुपर्ने भन्दै मतदातासँग मत आह्वान गरेका छन् ।

यस्तै प्रदेशमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका संजय प्रकाश यादवले सिरहा नगरपालिका वडा नम्बर ४, ५, ६, १३ र १७ मा मतदातासँग भेटघाट गर्दै आफूलाई जिताउन आह्वान गरेका छन् ।
यस्तै नेकपा एमालेबाट प्रदेश सदस्यमा वागी उम्मेदवारी दिएका गोपाल प्रसाद यादवले सिरहा नगरपालिका ९ ठेंगहीमा दिनभरी घरदैलो अभियान पूरा गरेका छन् । उनले आफू विभिन्न आन्दोलनमा सहभागी भएको, वडा अध्यक्षको रुपमा पनि राम्रो काम गरेको भन्दै यसपाली प्रदेश सांसदमा निर्वाचित गराउन मतदातासँग आह्वान गरेका छ्न् ।
यस्तै प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डा प्रविण यादवले सिरहा नगरपालिका वडा नम्बर १६, १७ र १८ मा चुनावी अभियान अन्र्तगत मतदातासँग आफूलाई युवा भएकोले निर्वाचित गर्न आह्वान गरेका छन् ।
यता जनमत पार्टीबाट प्रदेश सभामा उम्मेदवार बनेका गायक ज्ञानु यादवले सिरहा नगरपालिका १४ र १६ मा घरदैलो गर्दै मतदातासँग आफूलाई जिताउन आह्वान गरेका छन् ।
चुनावी अभियानमा प्रतिनिधि सभाका उम्मेदवार पूर्वमन्त्रीद्वयले विकासको आश्वासन बाँड्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय