यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।
सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ । प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । यसपालि गत शनिबार साँझ नै त्रयोदशी तिथि टेकेपछि सोही दिन ‘धनतेरस’ मनाइँदा यसपालि यो पर्व छ दिनको परेको हो । पाँच दिनको यमपञ्चकमा भने चौथो दिन नै ‘गोधन’ मनाइन्थ्यो ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती)नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस र पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथा बस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउछन् । पछिपछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको उनको भनाइ छ ।



