धरान : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ मा दुई गठबन्दनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिने भएका छन् ।
नेताहरूले केन्द्रमा चुनावी तालमेल गरे पनि स्थानीय स्थरमा कार्यकर्ताहरू विभाजन भएका कारण गठबन्धनका उम्मेदवारलाई यस पटकको चुनाव जित्न फलामको चिउरा चपाउनु जस्तै कठिन देखिएको छ ।

यस अगाडीका मध्यावधि निर्वाचनमा नेकपा एमालेले निर्वाचन जितेको सुनसरी क्षेत्र नम्बर १ मा यस पटक दुई ठुला दल एमाले र कांग्रेस दुबैले उम्मेदवारी दिएका छैनन् । सत्ता गठबन्धनको तर्फबाट यस क्षेत्रको प्रतिनिधि सभा सदस्य पदका लागि माओवादी केन्द्रका मुक्साहाङ मेन्याङबो चुनावी प्रतिष्पर्धामा छन् ।
एमाले–जसपा गठबन्धनबाट जसपाका संघीय अध्यक्ष अशोक राई चुनावी प्रतिष्पर्धामा छन् । राई र मेन्याङबोलाई एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङबो र सुकुम्वासीहरूको साझा संस्था नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कडा चुनौती दिने भएका छन् । सुनसरी १ को चुनावी माहोल हेर्दा यी चारजना उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
एमालेको पकड क्षेत्रका रुपमा रहेको सुनसरी क्षेत्र नम्बर–१ मा धरान उपमहानगरपालिकाका २० वडा तथा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्दछन् । गत स्थानीय निर्वाचनमा एमालेले विवादित बनेकी मञ्जु भण्डारीलाई मेयरको टिकट दिए पश्चात धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका हर्क साम्पाङ निर्वाचित भएका थिए ।
स्थानीय निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा यस क्षेत्र अझैपनि एमालेकै पकड क्षेत्र हो । तर, एमालेले जसपाका अशोक राईलाई टिकट दिए पश्चात एमालेका अधिकांस कार्यकर्ताहरूले विद्रोह गरेका छन् । एमाले कार्यकर्ताहरूले मनोज मेन्याङ्बोलाई समर्थन गरेपछि अशोकलाई यसपटक चुनाव जित्न फलामको चिउरा चपाउनु सरह भएको छ ।
सुनसरी क्षेत्र नम्ब १ मा जसपाको मत भने खासै देखिदैन् । अशोकले भने एमालेसँग गरिएको सहमति अनुसार आफुलाई सबै कार्यकर्ताहरूले मत दिएर निर्वाचित गराउने बताएका छन् । उनले चुनावी अभियानमा जनमत आफ्नै पक्षमा रहेकाले आफुले यसपटक निर्वाचन जितेरै छाड्ने दावी गरेका छन् ।
अशोक राईभन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मुक्साहाङको अबस्था केही राम्रो रहेको स्थानीयको विश्लेषण छ । तर, उनलाई सत्ता गठबन्धनकै कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका केही कार्यकर्ताहरूले असहयोग गर्ने बुझिएको छ । सत्ता गठबन्दनकै कार्यकर्ताहरूले मुक्साहाङलाई असहयोग गर्दा उनलाई चुनाव जित्न त्यति सहज देखिदैन् ।
मुक्साहाङले यो निर्वाचनमा सत्ता साझेदार दलहरूको समर्थन आफूलाई रहेका कारण यसपटक आफ्नो पक्षमा चुनावी नतिजा आउने बताएका छन् । अन्य उम्मेदवार भन्दा सत्ता गठबन्धनको अवस्था राम्रो भएकाले आफुले निर्वाचन जित्ने उनको दावी छ ।
धराना पूर्वमेयर समेत रहेका मनोज मेन्याङ्बोलाई असन्तुष्ठ बनेका एमाले, कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता र स्वतन्त्र मतदाताहरूले खुलेआम भोट मागिरहेका छन् ।
अहिलेको चुनावी माहोलले अशोक र मुक्साहाङको भन्दा मनोजलाई सहज देखिने विश्लेषण हुने गरेको छ । मनोज सबै दलसँग असन्तुष्ठ बनेका कार्यकर्ताहरूलाई साथमा लिएरA मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् । मनोजले सुनसरी क्षेत्र नम्बर १ का लागि आफुले अन्य उम्मेदवारभन्दा बढि योगदान गरेका कारण अधुरा काम सम्पन्न गर्न मतदाताले यसपटक फेरि आफूलाई निर्वाचित गराउने बताए ।
प्रमुख दलहरूले धरानलाई अपहेलना गरेका कारण एमालेबाट विद्रोह गरी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।
सुकुम्वासीको पकड क्षेत्र रहेका कारण सुकुम्वासी नेता कुमार कार्कीको पनि अवस्था राम्रै रहेको स्थानीय विश्लेषकको भनाइ छ । उनले पनि असन्तुष्ट बनेका एमाले, कांग्रेस र माओवादी कार्यकर्ताहरूको मत पाउने छन् । तर उनलाई त्यत्तिले मात्र चुनाव जित्न प्रयाप्त हुँदैन । सँधै दलका उम्मेदवारलाई भोट हाल्दै आएका सुकुम्वासीहरू भने यसपटक संगठित रुपमा कार्कीको पक्षमा छन् । कांग्रेस नेता समेत रहेका सुवास थुलुङ राईले कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवार नदिएका कारण आफू कार्कीको पक्षमा भोट माग्न सक्रिय रहेको बताए ।
कार्कीले पनि यहाँका सुकुम्वासी र सचेत नागरिकहरूले आफूलाई निर्वाचित गराउने दावी गरेका छन् । धरानका राजनीतिक विश्लेशक डा. राजेन्द्र शर्मा राजनीतिक दलहरू मुद्दाबिहीन र लोकप्रियता गुमाएका कारण सुनसरी–१ मा स्वतन्त्र उम्मेदवारको पक्षमा अप्रत्यासित रुपमा नतिजा आउन सक्ने बताउँछन् ।
क्षेत्र नम्बर १ को प्रदेश (क) को प्रदेश सभा सदस्यका लागि सत्ता रुढदलको तर्फबाट कांग्रेसका उमेश थापा र एमाले जसपा गठबन्धनबाट एमालेका रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा राप्रपाका तर्फबाट उद्वप श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश क मा कांग्रेसका थापा र एमालेका बस्नेतबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
प्रदेश (ख) मा सत्तारुढ दलको तर्फबाट नेकपा एकीकृत समाजवादीका रेवतरमण राई र एमालेको तर्फबाट विजय राईले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट यस क्षेत्रमा अनिस ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका रोहित सुब्बाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिए पश्चात एमालेका विजयलाई चुनाव जित्न केही सहज हुने देखिएको छ । प्रदेशमा उम्मदवारी दर्ता गराएका सबै नयाँ अनुहार हुन् । सुनसरी–१ मा एकलाख ४१ हजार ७ सय ८७ मतदाता छन् ।




